लगानीयोग्य रकम अभावको असर शेयरबजारमा, नेप्से दोहोरो अंकले घट्यो

0
Shares

बैंक तथा वित्तीय संस्थाहरुमा कर्जा प्रवाहका लागि लगानीयोग्य रकम अभाव चर्किपछि त्यसको असर शेयर बजारमा पनि देखिएको छ । पछिल्लो समय अन्तरबैंक ब्याजदर नै साढे ७ प्रतिशतसम्म उक्लेको अवस्था छ ।

राष्ट्र बैंकका अनुसार हाल बैंक तथा वित्तीय संस्थाहरुमा २७ अर्ब तरलता रहेको छ । चालु आवको अन्तिम त्रैमास आइपुग्दा सरकारलाई राष्ट्र बैंकले आन्तरिक ऋण उठाउँदा पनि तरलतामा कमी भएको बताइन्छ। 

नयाँ बजेटमा पूँजीगत लाभकर घटाउनु, बजार सुधारका कार्यक्रमहरु अगाडि बढिसकेको  अवस्था रहँदा रहँदै शेयर बजार घट्नु सुखद नभएको शेयर लगानीकर्ता बताउँछन्।  यस समयमा सरकारले पूँजीगत खर्चको भुक्तानी गर्ने हुँदा निराश भैहाल्नुपर्ने अवस्था नरहेको ती लगानीकर्ताले बताए।  शेयर बजार परिसूचक नेप्से आइतबार दोहारो अंकले घटेको छ । आइतबार नेप्से १३.७९ अंकले घटेर १३०५.६८ अंकमा झरेको छ । यसदिन १६६ कम्पनीका २ लाख ७ हजार कित्ता शेयर ७५ करोड ३२ लाख रुपैयाँमा खरिद बिक्री भएका छन्।

कारोबारमा आएका एघार उप सूचकमध्ये होटल र उत्पादन बाहेक बाँकी नौवटै उपसमूहको सूचक ऋणात्मक बन्दा समग्र नेप्से १.०५ प्रतिशतले घटेको हो।
गत आवको नाफाबाट ८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको प्रिमियर इन्स्योरेन्सको आइतबार १३ करोड २ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

यसैगरि शिवम् सिमेन्टस् ९ करोड ३७ लाख, नेपाल बैंक ४ करोड ४४ लाख र प्रभु बैंकको ४ करोड २९ लाखको शेयर खरिद बिक्री भयो। प्रभु बैंक, अपर तामाकोशी, एनआईसी एशिया, काबेली विकास बैंक, मेगा बैंक, नेपाल टेलिकम, र कन्काई विकास बैंक शिर्ष कारोबार हुने दश कम्पनीमा समेटिएका छन्।

कन्काई विकास बैंक र तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य ९ प्रतिशत बढीले बढोत्तरी भएको छ। माउन्टेन हाइड्रो, युनिभर्सल पावर, गुडविल र रिलायन्स फाइनान्स तथा कैलाश विकास बैंकको शेयरमूल्य तीन प्रतिशत बढीले सुधारिएको छ।

आइतबारको बजारमा पाँचथर पावरको शेयरधनीले आइतबारको बजारबाट ९.८१ प्रतिशतले गुमाएका छन्। ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य ८.८ घट्दा, स्वदेशी लघुवित्त, हिमालयन उर्जा, गुहेश्वरी फाइनान्स पनि शेयरमूल्य घटने सूचीमा परे।