ग्रामीण विकास लघुवित्त वित्तीय संस्था (GBLBS) ले चालु आव ०७६/०७७ को तेस्रो त्रैमाससम्ममा ५ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा करिब ६९ प्रतिशत कम हो।
लघुवित्तले गत आवको सोही अवधिसम्ममा १६ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। चालु आवकै दोस्रो त्रैमाससम्ममा लघुवित्तले ११ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाइसकेको थियो। लघुवित्तको नाफा पछिल्लो ३ महिनामा नै ६ करोड ६ लाखले घटेको छ।
चैत मसान्तसम्ममा लघुवित्तको निष्क्रिय कर्जा उल्लेख्य बढेका कारण सम्भावित जोखिम बापतको व्यवस्थामा अधिक रकम छुट्याउँदा खुद नाफा घटेको हो।
लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा १८ करोड ४२ लाख रुपैयाँ छुट्याएको छ। जुन गतवर्षको यसै अवधिको भन्दा दोब्बर बढी हो।
जोखिम व्यवस्थामा ठूलो रकम राख्दा लघुवित्तको निष्क्रिय कर्जको अनुपात ७.८१ प्रतिशत पुगेको छ । जबकि गत गत आवको तेस्रो त्रैमासमा ४.७६ प्रतिशत थियो भने चालु आवको दोस्रो त्रैमासमा ४.४५ प्रतिशत मात्र थियो।
चैत मसान्तसम्ममा ३ अर्ब ५८ करोड रुपैयाँ निक्षेप तथा ४ अर्ब ६४ करोड २२ लाख रुपैयाँ सापटीबाट लघुवित्तले १० अर्ब ५४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। जसबाट लघुवित्तले ६६ करोड ३३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। लघुवित्तको ब्याज आम्दानी बढेपनि संचालन नाफामा उच्च गिरावट आएको छ।
लघुवित्तको नाफा उच्चदरले घट्दा प्रतिशेयर आम्दानी ६ रुपैयाँ ९६ पैसामा सिमित भएको छ। यो गत आवको सोही अवधिको तुलनामा २६ रुपैयाँ ५१ पैसा कम हो। लघुवित्तको प्रतिशेयर नेटवर्थ १५७ रुपैयाँ ८४ पैसा तथा मूल्य आम्दानी अनुपात ५८.०५ गुणा कायम छ।
लघुवित्तको चुक्ता पूँजी ९८ करोड २५ लाख रुपैयाँ छ। जसको जगेडा तथा कोषहरुमा ५६ करोड ८२ लाख रुपैयाँ सञ्चित छ।
प्रतिक्रिया