
लकडाउनका कारण बन्द भई ५० औँ दिनमा खुलेको धितोपत्र बजार मङ्गलबारदेखि नियमित सञ्चालनमा आउनासाथ ऋणात्मकतर्फ उन्मुख देखिएको छ । सुरुवाती पाँच मिनेटमा नै बजार २.४० अर्थात ०.१९० प्रतिशतले घटेको हो। कारोबारमा आएका सबै कम्पनीहरुको शेयरमूल्य घटेको छ।
बजार खुला हुनसाथ ऋणात्मकतर्फ लागेको हो। धेरै लगानीकर्ता सहभागि हुन सक्ने अवस्था नरहेको अवस्थामा खुला भएको शेयर बजार प्राकृतिकभन्दा केहीको मुठ्ठीभरमा सञ्चालन हुने आशंकाकोबीच कारोबार भने सुचारु भएको हो।
बोर्डमा शुक्रबार भएको सरोकारवालासँगको छलफलले दोस्रो बजार कारोवारलाई दैनिक दुई घण्टा (बिहान ११ः०० देखि १ः०० बजेसम्म) सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । बोर्डका अनुसार प्रारम्भिक कारोवार सत्रमा मूल्य प्रविष्ट गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको एक प्रतिशतसम्म परिवर्तन हुनसक्ने र कारोवार आदेश प्रविष्ट गर्दा दुई प्रतिशतसम्म परिवर्तन हुनेसक्ने व्यवस्था गरी समग्रमा दिनको तीन प्रतिशतभन्दा बढी पविर्तन हुन नदिने व्यवस्था गरिएको छ ।
धितोपत्र बिक्रीको भुक्तानी अनिवार्यरुपमा आइपिएस वा विद्युतीय माध्यमबाट गर्नुपर्ने र आगामी साउनदेखि पूर्णरुपमा विद्युतीय माध्यम नै अवलम्बन गरिने भएको छ । नेप्से परिसूचक दुई प्रतिशतले घटी वा बढी भएमा सो दिनको कारोवार बन्द गरिनेछ।
धितोपत्र बजारमा लगानीकर्तालाई कुनै विशेष अवस्थामा कारोबारको सन्दर्भमा सवारी पासको आवश्यकता परेमा ब्रोकरको सिफारिसमा बोर्ड सम्पर्क राख्ने प्रबन्धसमेत मिलाइएको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए । नेप्से, सिडिएससी, मर्चेन्ट बैंकरलगायतको कार्यालय आइतबारदेखि सञ्चालनमा आइसकेका छन् ।
सरकारले गत चैत ११ गतेदेखि कोरोनाको सङ्क्रमण बढ्न नदिन लकडाउन घोषणा गरेसँगै दोस्रो बजार बन्द भएको थियो । नियामक निकाय नेपाल धितोपत्र बोर्डले मङ्गलबारदेखि शेयर बजार पुनः सञ्चालनमा ल्याउन नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको थियो










प्रतिक्रिया