निर्माण सामग्रीको अभावले ङादी आयोजनाको काम रोकियो

0
Shares

कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहँदा निर्माण सामग्री अभाव भएपछि ङादी आयोजनाको काम अघि बढ्न सकेको छैन । जिल्लाको उत्तरी भेग मस्र्याङदी गाउँपालिका–६ स्थित ङादीखोलामा चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्शन एण्ड इन्स्टलेसन कम्पनीद्वारा निर्माणाधीन ३० मेगावाटको सो आयोजनाको काम सामग्री अभावमा रोकिएको आयोजनाले जनाएको छ ।

सरकारले आयोजना निर्माणको अनुमति दिए पनि निर्माण सामग्री ढुवानीमा समस्या भएकाले काम हुन नसकेको आयोजनाका जनसम्पर्क अधिकृत विजय गुरुङले जानकारी दिए। उनले भने, “आयोजनामा सिमेन्ट, रड अभाव भएकाले हालसम्म पनि निर्माण भएको छैन, सो सामग्री नारायणगढबाट ल्याउनुपर्ने र जिल्ला प्रशासन कार्यालयबाट दुवानी सवारी साधनको पास लिइसकेको र केही दिनमा ढुवानी भएसँगै आयोजनाको काम अघि बढ्छ ।” आयोजनामा कामदार भने अभाव नभएको जनाइएको छ । “सामग्री आएपछि स्वास्थ्य सावधानी अपनाउँदै र सरकारको नियममा रहेर आयोजनाको काम अगाडि बढाउने तयारीमा छौँ”, उनले भने ।

विसं २०७३ चैत महिनाबाट निर्माणकार्य थालनी गरेको सो आयोजनाले तीन वर्षभित्र निर्माणकार्य सम्पन्न गरिसक्ने सम्झौता भएको थियो । उक्त सम्झौताअनुसार गत चैत महिनामा आयोजनाको निर्माणकार्य सम्पन्न गरी विद्युत् उत्पादन गर्नुपथ्र्यो । तर विविध कारणले निर्माणकार्यमा ढिलाइ भइरहेको बेला लकडाउन भएकाले काम प्रभावित हुँदा झन् आयोजनाको निर्माण सम्पन्न अनिश्चित बनेको छ ।

हालसम्म ८५ प्रतिशत मात्र आयोजनाको काम सम्पन्न भएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार सुरुङ, विद्युत्गृह (पावरहाउस), बाँध क्षेत्रको सिभिल संरचना निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजनामा सुरुङसहित ७२५ मिटर पेनस्टक पाइप राखिने आयोजनाले जनाएको छ । अनुमानित करिब ६ अर्ब लागतमा निर्माणसम्पन्न गर्ने लक्ष्य आयोजनाको रहेको छ ।

आयोजनामा एभरेष्ट बैंकको अगुवाइमा पाँच बैंकले ७५ प्रतिशत अर्थात् रु चार अर्ब ५० करोड ऋण लगानी गरेका छन् । बुटवल पावर कम्पनीबाट २५ प्रतिशत लगानी रहेको आयोजना प्रमुख उत्तम अमात्यले जानकारी दिए। आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग प्रचलित ‘पोष्टेड’ दरअनुसार वर्षायाममा रु ४.८० र सुक्खायामका लागि रु ८.४० मा विद्युत् खरिद सम्झौता (पिपिए) गरेको छ ।