नेप्सेमा सर्किट- ३७ लाखको कारोबार नहुँदै ३९ मिनेटमै बन्द भयो शेयर बजार

0
Shares

लकडाउनको बीचमा खोलिएको शेयर बजारमा दोस्रो दिन पनि नकारात्मक सर्किट लागेपछि बजार खुलेको ४० मिनेट नपुग्दै बन्द भएको छ।

शेयर बजारमा बिक्रीको चाप बढ्दा मूल्य घटाएर शेयर बिक्री गर्नेहरुको होडले २ घण्टाका लागि खुलेको बजार ४० मिनेट पनि चल्न सकेन।

नेप्से सूचक दुई प्रतिशत अर्थात २४.५८ विन्दुले झरेर १२०१.५७ विन्दुमा रोकिएको छ।

यसदिन ७४ कम्पनीको ३६ लाख १३ हजार ५२३ रुपैयाँ बराबरको शेयर किनबेच भयो। कुल २११ वटा कारोबारमा १० हजार ५२६ कित्ता सेयर किनबेच भएको हो।

यसदिन पनि कारोबार आएका अधिकांश कम्पनीको मूल्य तीन प्रतिशत हाराहारीमा घटेको छ। सबै उपसूचकहरु ओरालो लागेको बजारमा बैकिङ समूह साढे २५ अंक तथा जीवन बीमा १३० अंकले तल झरेको छ।

चैत ११ गतेबाट बन्द भएको शेयर कारोबार हिजोबाट खुलेको हो। हिजो पनि २५ अंक अर्थात २ प्रतिशतले घटेपछि कारोबार बन्द गरिएको थियो।

लकडाउनलाई ध्यानमा राख्दै सूचक २ प्रतिशत तलमाथि भए कारोबार बन्द गर्ने तथा कुनै पनि कम्पनीको शेयरमूल्य तीन प्रतिशत भन्दा धेरै घटबढ हुन नपाउन प्रावधान राखिएको छ।

प्रकाशित मिति: ३१ बैशाख २०७७, बुधबार  १२ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।