नवलपरासीका संक्रमित पनि भारतबाट लुकीछिपी प्रवेश गरेका थिए नेपाल

0
Shares

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लामा फेला परेका कोरोना संक्रमित भारतबाट गत वैशाख २८ गते बिहान लुकीछिपी नेपाल प्रवेश गरेको खुलेको छ ।

कोरोना संक्रमित प्रतापपुर गाउँपालिका वडा नं ५ बड्कीबैदौलीका ३६ वर्षीय पुरुष नेपाल भारत सीमा क्षेत्र बसहिया र बैदौलीबीचको धमौलीबाट खेतको बाटो हुँदै नेपाल प्रवेश गरेका थिए ।

नेपाल प्रवेश गरेको स्थानीयवासीले थाहा पाएपछि घर पुग्नुअगावै उनलाई क्वारेन्टाइन पठाएको गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माले जानकारी दिए ।

ती युवक करीब ६ महिनाअघि रोजगारीका सिलसिलामा भारतको दिल्ली गएका थिए । स्थानीयवासीका अनुसार दिल्ली बस्दै आएका उनी नेपाल प्रवेश गर्नुअघि दिदीको घर भारतको कुशीनगर जिल्लाको खड्डा क्षेत्रको सिसई भन्ने स्थानमा तीन दिन बिताएर नेपाल प्रवेश गरेका थिए ।

संक्रमित युवकलाई अहिले पृथ्वीचन्द्र अस्पतालको आइसोलेशन वार्डमा राखिएको छ । जिल्लामा कोरोना पोजेटिभ भेटिएपछि स्थानीयवासीमा त्रास बढेको छ । अझै पनि नेपाल भारत सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्ने नरोकिएपछि जिल्लामा डर बढेको हो ।

प्रकाशित मिति: १ जेष्ठ २०७७, बिहिबार  ०९ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।