शेयर बजार जेठ ५ गतेसम्म बन्द, २ दिनको कारोबार रद्ध गर्न लगानीकर्ताको माग

0
Shares

नेपाल स्टक एक्सचेञ्जले शेयर बजार आगामी जेठ ५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ।

धितोपत्र बोर्डले शेयर बजार बन्द गर्न निर्देशन दिएसँगै नेपाल स्टक एक्सचेञ्जको बिहीबार बसेको सञ्चालक समितिको बैठकले लकडाउन अवधिभर शेयर बजार बन्द गर्ने निर्णय गरेको हो।

लकडाउनका कारण ५०औँ दिनमा मङ्गलबार खुलेको शेयर बजार पुनः बन्द गर्न नेपाल धितोपत्र बोर्ड (सेवोन)ले निर्देशन दिएपछि नेप्सेले बजार बन्द गर्ने निर्णय गरेको हो।

बोर्डको निर्णयका आधारमा नेप्सेले मङ्गलबार र बुधबार शेयर कारोवार गरेको थियो । दुई कारोवार दिनमा समेत बजार पूरा समय टिक्नै सकेन । दुई प्रतिशतभन्दा बढीले बजार ओरालो लागे पनि नेप्सेले सर्किट ब्रेक लगाएर बजार बन्द गरेको थियो ।

मङ्गलबार बजार झण्डै डेढ घण्टा टिकेको थियो भने बुधबार कारोवार शुरु भएको ४० मिनेटमा नै सर्किट लागेर बन्द भएको थियो । बोर्डले दुई प्रतिशतका आधारमा बजार उकालो लागे पनि वा ओरालो लागे पनि सर्किट ब्रेक लगाउने व्यवस्था गरेको थियो ।

लकडाउन जारी रहे पनि बजार सञ्चालन गर्ने निर्णयअनुसार खुलेको बजार आज पुनः बोर्डको निर्देशनअनुसार नै बन्द गरिएको नेप्सेले जनाएको छ ।

कोरोना भाइरसको जोखिम काठमाडौँ उपत्यकामा परेको र सरकारले यही जेठ ५ गतेसम्म लकडाउन जारी राखेका कारण त्यसलाई कडाइका साथ लागू गर्नुपर्ने भएकाले बजार बन्द गरिएको नेप्सेले जनाएको छ ।

लकडाउनलाई पूर्णरुपमा पालन गर्न र मानिसको आवतजावत गर्न सवारी पासमा समेत कडाइ गरेको र यस्तो अवस्थामा लगानीकर्ताको धितोपत्रको पहुँचमा असहजता हुने देखिएकाले लगानीकर्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर लकडाउन अवधिभर कारोवार स्थगन गर्न बोर्डले निर्देशन दिएको छ ।

यता शेयर लगानीकर्ताहरुले भने लकडाउनकोबीचमा खुलेको दुई दिनको कारोबार रद्ध गनुपर्ने माग राख्दै आएका छन्।

 

प्रकाशित मिति: १ जेष्ठ २०७७, बिहिबार  १२ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।