हालसम्म ८४ हजार ९९१ कोरोना नमुना परीक्षण, एकैदिन ३३ सय जाँच

0
Shares

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मुलुकभर हालसम्म रियल टाइम पोलिमरेज चेन रियाक्सन (पीसीआर) र र्यापिड डाइग्रोस्टिक टेस्ट (आरडीटी) प्रविधिबाट गरी कूल ८४ हजार ९९१ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको परीक्षण गरिएको जनाएको छ।

त्यसमध्ये पीसीआर प्रविधिबाट २२ हजार ६६४ र आरडिटी प्रविधिबाट ६२ हजार ३२७ जनामा कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले गत २४ घण्टामा मुलुकभर ३ हजार ३७१ जनामा कोरोना परीक्षण गरिएको जानकारी दिए। जसमध्ये पीसीआरबाट १ हजार ३६३ र आरडिटीबाट २ हजार ८ वटा भएका हुन्।

हालसम्म आरडिटी प्रविधिबाट प्रदेश नं १ मा ८ हजार ६७३, प्रदेश नं २ मा ५ हजार ९६४, वाग्मती प्रदेशमा ९ हजार ८६१, गण्डकी प्रदेशमा ६ हजार ७१६, प्रदेश नं ५ मा ७ हजार ९११, कर्णाली प्रदेशमा ७ हजार ३०७ र सुदूरपश्चिम प्रदेशमा १५ हजार ८९५ वटा आरडिटी विधिबाट कोरोना परीक्षण गरिएको छ।

मन्त्रालयले माघ १४ गतेदेखि पीसीआर प्रविधिबाट र चैत १९ देखि आरडिटी विधिबाट कोरोनाको नमुना परीक्षण थालेको थियो।

  • १५ हजार ६०० जना क्वारेटाइनमा, ‘आइसोलेशन’ मा २७२ जना

मुलुकभर हालसम्म ५३ हजार ८३५ वटा बेड रहेकोमा १५ हजार ६०० जना क्वारेटाइनमा रहेका छन् । जसमध्ये प्रदेश नम्बर एक मा ८२० जना, प्रदेश नम्बर दुईमा १ हजार ६९६ जना, वाग्मती प्रदेशमा १०९ जना, गण्डकी प्रदेशमा २८६ जना, प्रदेश नम्बर पाँचमा ७ हजार ९५८ जना, कर्णालीमा १ हजार ६०४ र सुदूरपश्चिम प्रदेशमा ३ हजार १२७ जना व्यक्ति क्वारेन्टाइनमा रहेका छन्।

आइसोलेशनमा रहेका सम्भावित सङ्क्रमित तथा बिरामीको सङ्ख्या कूल २७२ रहेको प्रवक्ता देवकोटाले जानकारी दिए। त्यसमध्ये काठमाडौँ उपत्यकामा ६ र उपत्यकाबाहिर २६६ जना आइसोलेशनमा रहेका छन् । जसमध्ये प्रदेश नं १ मा २१, प्रदेश नं २ मा १०१, वाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा १ जना र प्रदेश नं ५ मा ११२ जना रहेका छन्।

मन्त्रालयका दुई वटा कल सेन्टर १११५ र ११३३ मा गत २४ घण्टामा १ हजार ४९७ स्वास्थ्य जिज्ञासा सम्बन्धी कलहरु प्राप्त भएका र स्वास्थ्यकर्मी तथा चिकित्सकबाट त्यसको उत्तर दिइएको उनले बताए।

त्यसैगरी मन्त्रालयको वेभपेज र मोबाइल एप हाम्रो स्वास्थ्यमा हालसम्म ३६ हजार ४६२ जनाले आफ्नो स्वास्थ्य स्थिति जाँच गराएका छन्। पछिल्लो २४ घण्टामा ७४२ आफ्नो स्वास्थ्य विवरण ‘इन्ट्री’ गराएका छन् भने त्यसबाट थप ४ जना सम्भावित संक्रमितको ‘रेडजोन’ मा परेका छन् ।

यससँगै रेड जोनम पर्नेरुको संख्या ३५९ पुगेको छ। रेडजोेनमा परेका व्यक्ति भनेका सम्भावित सङ्क्रमित व्यक्ति हुन । जसलाई प्रदेशका स्वास्थ्य निकाय र मन्त्रालयको ईपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले टे«सिङको कार्य गरिरहेको उनले बताए।

हालसम्म ९८ हजार ६० जनाले मोबाइल एप डाउनलोड गरेका छन् भने १३ लाख ७२ हजार ७०७ जनाले वेवसाइट भिजिट गरेका छन्।