चौतारी लघुवित्त र आरम्भ माइक्रोफाइनान्सले गरे मर्जरमा जाने सम्झौता

0
Shares

चौतारी लघुवित्त वित्तीय संस्था र आरम्भ माइक्रोफाइनान्सले बुधबार एक आपसमा एक बराबर एक शेयर स्वाप रेसियोमा गाभिने सम्झौता सम्पन्न गरेका छन्।

रुपन्देहीको बुटवलमा केन्द्रीय कार्यालय रहेको चौतारी र काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको आरम्भ माइक्रोफाइनान्सले राष्ट्रिय स्तरको बन्ने लक्ष्यका साथ जेठ २२ गते बुधबार मर्जर सम्झौता सम्पन्न गरेका हुन्।

सम्झौताको दिन नै उपयुक्त थप संस्थाहरुसँग मर्जर वा प्राप्तीमा गई चार वर्षभित्र नेपालकै सबैभन्दा ठूलो नेटवर्क भएको लघुवित्त बन्ने लक्ष्य लिइएको बताइएको छ। सम्झौता भएको तीन महिनाभित्र कार्यतालिका बनाएर आरम्भ चौतारी लघुवित्तको नाममा संयुक्त कारोबार थाल्ने तयारी छ। हाल चौतारी लघुवित्तले प्रयोग गर्दे आइरहेको लोगो नै प्रयोग गरिने बताइएको छ।

यसैगरि केन्द्रीय कार्यालय बनेपामा रहने, नयाँ संस्थाको अध्यक्षमा चौतारीका जगतबहादुर पोखरेल र प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरे तथा सञ्चालक समितिमा चौतारीको अध्यक्ष सहित ४ र आरम्भको २ जना रहने सम्झौता छ।

केही महिना अगाडि मात्रै प्राथमिक शेयर निष्काशन गरि बाँडफाँड गरेको चौतारी र आरम्भले राष्ट्र बैंकको निर्देशनपछि मर्जरको बाटोमा पुगेका हुन्। एकीकृत आरम्भ चौतारी लघुवित्तको चुक्ता पूँजी २४ करोड ६० लाख पुग्नेछ भने संस्थापक शेयर ६३.६६ प्रतिशत र साधारण शेयरको अनुपात ३६.३४ प्रतिशत कायम रहनेछ।

एकीकृत संस्थाको तत्काल ३० जिल्लाका ७७ शाखा मार्फत करिब ३० हजार महिला सदस्यमा सेवा पुग्नेछ भने कर्जा लगानी एक अर्ब ९५ करोड र निक्षेप संकलन ६० करोड कायम हुनेछ ।

चौतारीका अध्यक्ष जगतबहादुर पोखरेलले मर्जर सम्झौताले माइक्रोफाइनान्स कम्पनीहरुमा रहेको डुब्लिकेशन, मल्टिफाइनान्सिङ जस्ता समस्या आइरहेको भन्दै मर्जर अनिवार्य रहेकाले सम्झौताबाट खुशी मिलेको बताए।