
आर्थिक समृद्धी लघुवित्तलाई प्राप्ति गरी गत असार ३० गतेबाट एकीकृत कारोबार संचालन गरेको साधना लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासदेखि नै आफ्नो ब्यवसायसँगै नाफामा बढोत्तरी गर्दै आएको छ।
लघुवित्तले चालु आवको तेस्रो त्रैमाससम्ममा १ करोड ९० लाख ९१ हजार खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा लघुवित्तको नाफा १ करोड १४ लाख १६ हजार रहेकोमा ६७.२३ प्रतिशतले बढेको हो।
लघुवित्तको एकीकृत कारोबार पश्चात कार्यक्षेत्र विस्तारले व्यवसायको आकार र मुनाफा दुबैमा सुधार देखिएको हो। उच्च बढेको कर्मचारी र सञ्चालन खर्चका बाबजुत लघुवित्तले आफ्नो नाफा वृद्धि गरेको छ। यस अवधिमा लघुवित्तको कर्मचारी खर्च २ करोड ११ लाखबाट ४ करोड ९२ लाखमा र सञ्चालन दर्च ९६ लाखबाट २ करोड २१ लाखमा बढोत्तरी भएको छ। एकीकृत कारोबार पश्चात सञ्चालन खर्च र कर्मचारी खर्चमा बढोत्तरी भएको हो।
गोरखामा केन्द्रीय कार्यालय रहेको लघुवित्तको चुक्ता पूँजी १४ करोड ७० लाख र वार्षिक प्रतिशेयर आम्दानी १७ रुपैयाँ ३२ पैसा रहेको छ । संस्थाको जगेडा कोषको आकार १ करोड १४ लाखबाट बढेर ४ करोड २ लाख पुगेको छ ।
चैत मसान्तसम्मको अवधिमा लघुवित्तले ४३ करोड १६ लाख निक्षेप संकलन तथा १ अर्ब १७ करोड २४ लाख सापटी लिएर १ अर्ब ७० करोड ५२ लाख कर्जा प्रवाह गरेको छ । जसबाट ७ करोड ५० लाख खुद ब्याज आम्दानी भएको छ।
समीक्षा अवधिमा लघुवित्तको निक्षेप संकलन २४ करोड ३ लाख, सापटी ५९ करोड ४३ लाख, कर्जा लगानी ८५ करोड ५४ लाख र खुद ब्याज आम्दानी एक करोड ७९ लाख ७१ हजार रुपैयाँले बढेको हो।
लघुवित्तको खराब कर्जा अनुपात ०।०२ प्रतिशतबाट बढेर १.६७ प्रतिशतमा पुगेको छ। जसका कारण लघुवित्तको कर्जा नोक्सानी ब्यवस्था रकम ९९ लाखबाट बढेर ३ करोड ३३ लाख रुपैयाँ पुगेको छ। लघुवित्तको निक्षेप संकलन लागत १०.१२ प्रतिशत छ ।










प्रतिक्रिया