नेपालमा १ लाख बढीमा कोरोना नमुना परीक्षण, एकैदिन ४ हजार ३०० बढी

0
Shares

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मुलुकभर हालसम्म रियल टाइम पोलिमरेज चेन रियाक्सन (पीसीआर) र र्यापिड डाइग्रोस्टिक टेस्ट (आरडीटी) प्रविधिबाट गरी कूल १ लाख २८३ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको परीक्षण गरिएको जनाएको छ।

त्यसमध्ये पीसीआर प्रविधिबाट ३० हजार ७२३ र आरडिटी प्रविधिबाट ६९ हजार ५६० जनामा कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले गत २४ घण्टामा मुलुकभर ४ हजार ३४९ जनामा कोरोना परीक्षण गरिएको जानकारी दिए। जसमध्ये पीसीआरबाट २ हजार ५५८ र आरडिटीबाट १ हजार ७९१ वटा भएका हुन्।

हालसम्म आरडिटी प्रविधिबाट प्रदेश नं १ मा ९ हजार २१७, प्रदेश नं २ मा ६ हजार २२, वाग्मती प्रदेशमा ११ हजार ९२३, गण्डकी प्रदेशमा ६ हजार ९३२, प्रदेश नं ५ मा ९ हजार १३२, कर्णाली प्रदेशमा ७ हजार ५८० र सुदूरपश्चिम प्रदेशमा १८ हजार ७५४ वटा आरडिटी विधिबाट कोरोना परीक्षण गरिएको छ।

मन्त्रालयले माघ १४ गतेदेखि पीसीआर प्रविधिबाट र चैत १९ देखि आरडिटी विधिबाट कोरोनाको नमुना परीक्षण थालेको थियो।

  • २० हजार ९० जना क्वारेटाइनमा, ‘आइसोलेशन’ मा ४१२ जना

मुलुकभर हालसम्म ५३ हजार ८३५ वटा बेड रहेकोमा २० हजार ९० जना क्वारेटाइनमा रहेका छन् । जसमध्ये प्रदेश नम्बर एक मा १ हजार १८० जना, प्रदेश नम्बर दुईमा ३ हजार ८० जना, वाग्मती प्रदेशमा २८५ जना, गण्डकी प्रदेशमा ३९३ जना, प्रदेश नम्बर पाँचमा १२ हजार ८१५ जना, कर्णालीमा ७०७ र सुदूरपश्चिम प्रदेशमा १ हजार ६३० जना व्यक्ति क्वारेन्टाइनमा रहेका छन्।

आइसोलेशनमा रहेका सम्भावित सङ्क्रमित तथा बिरामीको सङ्ख्या कूल ४१२ रहेको प्रवक्ता देवकोटाले जानकारी दिए। त्यसमध्ये काठमाडौँ उपत्यकामा २६ र उपत्यकाबाहिर ३८६ जना आइसोलेशनमा रहेका छन् । जसमध्ये प्रदेश नं १ मा २७, प्रदेश नं २ मा १३३, वाग्मती प्रदेशमा ७०, गण्डकी प्रदेशमा १ जना, प्रदेश नं ५ मा १७० जना र सुदूरपश्चिम प्रदेशमा ११ जना रहेका छन्।

मन्त्रालयका दुई वटा कल सेन्टर १११५ र ११३३ मा गत २४ घण्टामा १ हजार ८९८ स्वास्थ्य जिज्ञासा सम्बन्धी कलहरु प्राप्त भएका र स्वास्थ्यकर्मी तथा चिकित्सकबाट त्यसको उत्तर दिइएको उनले बताए।

त्यसैगरी मन्त्रालयको वेभपेज र मोबाइल एप हाम्रो स्वास्थ्यमा हालसम्म ४२ हजार १६७ जनाले आफ्नो स्वास्थ्य स्थिति जाँच गराएका छन्। पछिल्लो २४ घण्टामा ३ हजार ९९ जनाले आफ्नो स्वास्थ्य विवरण ‘इन्ट्री’ गराएका छन् भने त्यसबाट थप २३ जना सम्भावित संक्रमितको ‘रेडजोन’ मा परेका छन् ।

यससँगै रेड जोनम पर्नेरुको संख्या ४०५ पुगेको छ। रेडजोेनमा परेका व्यक्ति भनेका सम्भावित सङ्क्रमित व्यक्ति हुन । जसलाई प्रदेशका स्वास्थ्य निकाय र मन्त्रालयको ईपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले टे«सिङको कार्य गरिरहेको उनले बताए।