नेपालमा कोरोना संक्रमितको संख्या ३७५ पुग्यो, थप १८ जनामा पुष्टि

0
Shares

नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ७५ पुगेको छ।

सोमबार साँझ थप १८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। बाँकेका १२, धनुषाका २ र खोटाङ, सुनसरी, झापा तथा दैलेखका एकएक जनामा संक्रमण पुष्टि भएको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, भेरी अस्पताल नेपालगञ्ज र कोशी अस्पताल विराटनगरमा परीक्षणका क्रममा नयाँ संक्रमण देखिएको बताए। 

उनका अनुसार नयाँ देखिएका संक्रमितमा दैलेख र खोटाङ जिल्लाका पनि छन् । दैलेखमा संक्रमित देखिएसंँगै कर्णाली प्रदेशमा पनि संक्रमण देखिएको छ । नयाँ संक्रमित सबै पुरुष छन् ।

उनका अनुसार संक्रमण देखिएकामध्ये धनुषा निवासी दुई, खोटाग हलेसी निवासी, बाँके नरैनापुर गाउँपालिका निवासी १२, दैलेख आठबीस वडा नंं १ निवासी एक , सुनसरी निवासी र झापा निवासी एक छन् ।

यसअघि सोमबार ६२ जनामा संक्रमण देखिएको थियो । बिहान ९ र अपराह्न ५३ जनामा संक्रमण देखिएको हो । अहिले देखिएका १८ जनासंँगै आजमात्रै ८० जनामा संक्रमण देखिएको छ । सोमबार देखिएका संक्रमितमा सबभन्दा बढी बाँकेमा ५९ जनामा देखिएको मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले बताए ।

आज देखिएको संख्या सबभन्दा बढी हो । आज देखिएकासंँगै संक्रमितको संख्या ३७५ पुगेको छ । दुई जनाको कोभिड –१९ का कारणले मृत्यु भएको छ । सहप्रवक्ता डा अधिकारीका अनुसार संक्रमितको अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन ।