इन्भेष्टमेन्ट बैंकको २ अर्बको ऋणपत्रमा आवेदन खुल्यो, ब्याजदर वार्षिक १०.५ प्रतिशत

0
Shares

नेपाल इन्भेष्टमेन्ट बैंकले जेठ २४ गते शुक्रबारदेखि प्रतियुनिट एक हजार रुपैयाँ अंकित दरमा दुई अर्बको ऋणपत्र निष्काशन गरेको छ।

लगानीयोग्य रकमको अभाव र पूँजीकोषमा दबाब सिर्जना भएपश्चात बैकले सात वर्ष अवधिको ऋणपत्र निष्काशन गरेको हो ।

दीर्घकालीन लगानी स्रोत जुटाउन बैंकले निष्काशन गर्ने ‘१०.५ नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर २०८२’ मा लगानीकर्ताले सात वर्षसम्म वार्षिक १०.५ प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा प्राप्त गर्नेछन्।

यसमा लगानी गर्नेले शेयर बजारमा शेयरको मूल्यजस्तो सम्पत्तिमा घटबढ नहुने, लगातार वार्षिक १०.५ प्रतिशत ब्याजदर भईरहने, बैंक तथा वित्तीय संस्थाहरुमा ऋणपत्र धितो राखेर कर्जा लिन सकिने र ऋणपत्रको अवधि समाप्त नहुँदै दोस्रो बजारमा बिक्री गरि लगानी फिर्ता लिन सकिने विशेषता छ।

इन्भेष्टमेन्ट बैंकले प्रतिइकाई एक हजार रुपैयाँ अंकित दरमा २० लाख इकाई ऋणपत्र बिक्रीमा ल्याएको हो। कूल २० लाख ऋणपत्रमध्ये ४० प्रतिशत बराबरको ८ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ भने ६० प्रतिशत अर्थात १२ लाख इकाई बैंकले व्यतिगत तवरबाटै बिक्री गर्नेछ ।

सिद्धार्थ क्यापिटलको बिक्री प्रबन्धकत्वमा निष्काशन हुने ७ वर्षे अवधिको उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता अर्थात २५ हजार रुपैयाँदेखि अधिकतम एक लाख कित्ता अर्थात दश करोड रुपैयाँसम्मको आवेदन दिन सक्नेछन्। ऋणपत्रमा आवेदन दिन म्याद छिटोमा जेठ २८ र ढिलोमा असार २२ गतेसम्म रहेको छ ।