नेपालमा कोरोना संक्रमणबाट तेस्रो मृत्यु, गुल्मीका संक्रमितको निधन

0
Shares

रूपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका कोरोना संक्रमितको आज (जेठ ८ गते बिहीबार ) बिहान मृत्यु भएको छ।

भेन्टिलेटरमा उपचाररत गुल्मीको मदाने गाउँपालिका- ६ का ४१ वर्षीय शिक्षकको बिहीबार बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको अस्पतालले घोषणाा गरेको हो।

यो कोरोनाबाट नेपालमा भएको तेस्रो मृत्यु हो। सोमबार कोरोना संक्रमण पुष्टि भएका गुल्मी मदाने–६ पुर्कोटदहको निमाविका ४१ वर्षीय संक्रमित प्रधानाध्यापकको बिहीबार बिहान निधन भएको प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले पृष्टि गरेका छन्। 

उनको रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा आइसोलेसनमा राखेर उपचार भैरहेको थियो। जेठ १ गते अस्पतालमा भर्ना भएका उनलाई ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि भेन्टिलेटरको सहायतामा आइसियूमा उपचार भइरहको थियो।

एक हप्ता पहिल्यैदेखि ज्वरो देखिएको उनी सुरुमा गाउँकै पुर्कोट दहस्थित मदाने पोलिक्लिनिक, म्यालपोखरी स्वास्थ्य चौकी, अर्घाखाँचीको सन्धिखर्कस्थित छायाँ पोलिक्लिनिक समेत उपचार गराएका थिए। विरामीको अवस्था जटिल बन्दै गएपछि त्यहाँका स्वास्थ्यकर्मीले मणिग्रामको क्रिमसन अस्पताल रिफर गरेपछि उनी अस्पताल भना भएका थिए।

यसअघि सिन्धुपाल्चोक बाह्रबिसेकी सुत्केरी र बाँके नरैनापुरका युवकको कोरानाबाट मृत्यु भइसकेको छ। नेपालमा सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षिया सुत्केरीको जेठ १ गते राती र बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा रहेका २५ वर्षीय पुरुषको जेठ ४ गते आइतबार मृत्यु भएको थियो।

यसअघिका दुवैजनाको कोरोना परीक्षण रिपोर्ट मृत्यु भएपछि आएको थियो भने तेस्रो संक्रमतिको भने संक्रमण पुष्टि भएको तीन दिनपछि निधन भएको हो।