नेपालमा १ लाख १७ हजार बढीमा कोरोना परीक्षण, एकैदिन ७ हजार बढी

0
Shares

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मुलुकभर हालसम्म रियल टाइम पोलिमरेज चेन रियाक्सन (पीसीआर) र र्यापिड डाइग्रोस्टिक टेस्ट (आरडीटी) प्रविधिबाट गरी कूल १ लाख १७ हजार ४३१ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको परीक्षण गरिएको जनाएको छ।

त्यसमध्ये पीसीआर प्रविधिबाट ३८ हजार ७३६ र आरडिटी प्रविधिबाट ७८ हजार ६९५ जनामा कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले गत २४ घण्टामा मुलुकभर ७ हजार ३६ जनामा कोरोना परीक्षण गरिएको जानकारी दिए। जसमध्ये पीसीआरबाट ३ हजार ४१३ र आरडिटीबाट ३ हजार ६२३ वटा भएका हुन्।

हालसम्म आरडिटी प्रविधिबाट प्रदेश नं १ मा ९ हजार ८३७, प्रदेश नं २ मा ६ हजार २७९, वाग्मती प्रदेशमा १७ हजार ४४९, गण्डकी प्रदेशमा ७ हजार १८, प्रदेश नं ५ मा १० हजार ५६२, कर्णाली प्रदेशमा ७ हजार ६६५ र सुदूरपश्चिम प्रदेशमा १९ हजार ४८५ वटा आरडिटी विधिबाट कोरोना परीक्षण गरिएको छ।

मन्त्रालयले माघ १४ गतेदेखि पीसीआर प्रविधिबाट र चैत १९ देखि आरडिटी विधिबाट कोरोनाको नमुना परीक्षण थालेको थियो।

  • २५ हजार ३० जना क्वारेटाइनमा, रेडजोनमा ४३५ जना

मुलुकभर हालसम्म २५ हजार ३० जना क्वारेटाइनमा रहेका छन् । जसमध्ये प्रदेश नम्बर एक मा १ हजार ३४९ जना, प्रदेश नम्बर दुईमा ४ हजार ९६६ जना, वाग्मती प्रदेशमा ५२८ जना, गण्डकी प्रदेशमा ५९१ जना, प्रदेश नम्बर पाँचमा १४ हजार ७६० जना, कर्णालीमा ७४१ र सुदूरपश्चिम प्रदेशमा २ हजार ९५ जना व्यक्ति क्वारेन्टाइनमा रहेका छन्।

मन्त्रालयका दुई वटा कल सेन्टर १११५ र ११३३ मा गत २४ घण्टामा १ हजार ७८५ वटा स्वास्थ्य जिज्ञासा सम्बन्धी कलहरु प्राप्त भएका र स्वास्थ्यकर्मी तथा चिकित्सकबाट त्यसको उत्तर दिइएको उनले बताए।

त्यसैगरी मन्त्रालयको वेभपेज र मोबाइल एप हाम्रो स्वास्थ्यमा हालसम्म ४६ हजार ४२७ जनाले आफ्नो स्वास्थ्य स्थिति जाँच गराएका छन्। पछिल्लो २४ घण्टामा ९७७ जनाले आफ्नो स्वास्थ्य विवरण ‘इन्ट्री’ गराएका छन् भने त्यसबाट थप ८ जना सम्भावित संक्रमितको ‘रेडजोन’ मा परेका छन् । यससँगै रेड जोनम पर्नेहरुको संख्या ४३५ पुगेको छ।

रेडजोेनमा परेका व्यक्ति भनेका सम्भावित सङ्क्रमित व्यक्ति हुन । जसलाई प्रदेशका स्वास्थ्य निकाय र मन्त्रालयको ईपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले टे«सिङको कार्य गरिरहेको उनले बताए।

प्रकाशित मिति: ८ जेठ २०७७, बिहीबार  १७ : ४० बजे