कोरोनाको कारण घरजग्गाको मूल्य घट्ने, बैंक तथा मूल्यांकनकर्तालाइ असर पर्ने

0
Shares

विश्वब्यापी रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस) ले विश्व नै आक्रान्त बनिरहेको छ । कोभिड–१९ संक्रमण नियन्त्रण तथा रोकथामका लागी विश्वभरले अंगाल्दै आएको लकडाउन,कफ्यू जस्ता सावधानीले आर्थिक क्षेत्रहरु चलायमान हुन सकेको छैन ।

नेपालमा पनि कोभिड–१९ संक्रमण फैलन नदिन सरकारले चैत्र ११ गतेदेखी लगाएको लकडाउनले नेपाल जस्तो सानो अर्थतन्त्र भएको देशमा ब्यापक असर परेको छ । नेपालको आर्थिक क्षेत्र मध्येको एक हो घर–जग्गा कारोबार जुन अहिले ठप्प छ ।

नेपालमा घरजग्गाको मूल्यममा के असर पर्ला भन्ने सम्बन्धमा नेपाल भ्यालुयर्स एसोसिएसनले बैंकिङ, कानुन एवं लेखापरीक्षण क्षेत्रका व्यक्तिहरूसँग छलफल गरेको छ । उक्त छलफलमा अधिकांश व्यक्तिहरूले घरजग्गाको मूल्य घट्न सक्ने आँकलन गरेका छन् । साथै मूल्यांकन क्षेत्रमा अन्तर्राष्ट्रिय अभ्यास पालना गर्नुपर्नेमा विज्ञहरूको विशेष जोड दिएका छन् ।

अन्तर्राष्ट्रिय बजारको नकारात्मक असर नेपालमा पनि पर्न सक्ने सम्भावना- देवेन्द्र कुमार श्रेष्ठ, मूल्याङ्कन कार्य विज्ञ

अन्तर्राष्ट्रिय स्तरमा घरजग्गाको मूल्यमा नकारात्मक असर परेको देखिन्छ । यस्तो अवस्थालाई विचार गर्दै नेपालमा पनि मूल्याङ्कन कार्य अन्तर्राष्ट्रियस्तरको हुनु जरुरी छ । अब पनि अन्तर्राष्ट्रिय स्तरको मूल्याङ्कन कार्य नगर्ने हो भने बजारको अनिश्चितता एवं यस्ता महामारीको बेला बैंक तथा मूल्यांकनकर्तालाइ ठूलो असर पर्ने देखिन्छ ।

मूल्यांकन कार्य विज्ञान होइन, कला हो । जसमा मूल्यांकनकर्ताले आफ्नो अनुभव र बजार मूल्यको आधारमा आफ्नो राय तथा विष्लेषण दिने गर्दछन् । यसलाइ थप व्यवस्थित बनाउन मूल्यांकन कार्य सम्बन्धमा विशेष कार्यविधि हुनुपर्ने जरूरी रहेपनि नेपालमा अहिले सम्म कुनै पनि किसिमको गाइडलाइन्स, एेन तथा नियम नबन्नु ठूलो चुनौती बनेको छ ।

मूल्य घट्ने स्पष्ट सङ्केत देखिन्छ- अनलराज भट्टराइ : पूर्व बैंकर तथा आर्थिक विष्लेषक

बजारको अस्थिरता तथा आर्थिक रूपमा चेन इफेक्टले गर्दा घरजग्गाको मूल्य प्रष्ट रूपमा घट्ने देखिन्छ । घरजग्गाको मूल्य भनेको यथार्थपरक विष्लेषण एवं उच्च अनुभवको आधारमा सोही समयमा प्रस्तुत गरिने आफ्नो विचार हो । जसको स्वामित्व अनन्त काल सम्म रहन सक्दैन ।

मूल्यांकन कार्यलाइ व्यवस्थित बनाउन एवं आगामी दिनमा आउन सक्ने यस्तै महामारी वा आर्थिक मन्दीको अवस्थालाइ जित्नको लागि अन्तर्राष्ट्रिय मूल्यांकन विधि अहिलेको आवश्यकता हो ।

थप दुर्घटनाबाट बच्न केही समयलाइ मूल्यांकन कार्य बन्द गरौं – भुवन कुमार दाहाल – अध्यक्ष, नेपाल बैंकर्स एसोसिएसन

कोभिड- १९ को कारण घरजग्गामा आउन सक्ने नकारात्मक असरलाइ मध्यनजर गर्दै सबै सरोकारवालाहरूको बीचमा समन्वय तथा सहकार्यको निम्ति एउटा कमिटी बनाएर अघी बढ्नुपर्ने आवश्यकता छ ।

हामी मूल्यांकनकर्ता र बैंकरहरू आपसका सहयात्री भएकोले दोषारोपण गर्नुभन्दा पनि समस्या पहिचान गरी समाधान तर्फ अघी बढ्नु जरूरी छ ।

घरजग्गाको मूल्यको अनिश्चितताको कुरालाइ ध्यानमा राख्दै नयाँ मूल्यांकनको कार्य केही समयका लागि स्थगन गर्नु नै उपयुक्त हुन्छ।

धेरै गिरावट नआउला, गोविन्द ढकाल :- अध्यक्ष, डेभलपमेन्ट बैंकर्स एसोसिएसन

कोभिड-१९ को कारण घरजग्गामा असर देखिएपनि नेपालमा तत्काल मूल्यमा धेरै गिरावट त नआउला । तर अवस्था अझै अनिश्चित नै छ । अहिलेको विषम परिस्थितिमा हामी सबै मिलेर अघी बढ्नुको विकल्प छैन ।

अहिले सम्म अपनाएको परम्परागत मूल्यांकन कार्यले पार्न सक्ने प्रभाव कम गर्न र अबका दिनमा नयाँ तवरले अघी बढ्न अन्तर्राष्ट्रिय मूल्यांकन विधिहरू अपनाउनु जरूरी छ । त्यस कार्यमा संलग्न रहन र आवश्यक सहयोग गर्न हामी बैंकरहरू तयार नै छौं ।

सबै बैंकमा एकै किसिमको गाइडलाइन्स आवश्यक- कृष्ण प्रसाद आचार्य- अध्यक्ष, आइक्यान

घरजग्गाको लागि ऋण प्रवाह गर्नको लागि पछिल्लो समय मूल्यांकनलाइ उच्च महत्वमा राखिँदै आइएको छ । यस्तो अवस्थामा मूल्यांकन कार्यलाइ व्यवस्थित बनाउन र यसमा एकरूपता ल्याउन सबै बैंक तथा वित्तीय संस्थाहरूले एकै किसिमको गाइडलाइन्स लागु गर्नुपर्ने आवश्यकता देखिएको छ ।

अबका दिनमा महामारी लगायत आर्थिक मन्दीका बेलामा यस्ता ठूला एकै किसिमको गाइडलाइन्सले हामीलाइ विशेष सहयोग पुर्याउन सक्छ । साथै मूल्यांकन कार्यमा अन्तर्राष्ट्रिय प्रविधि र ज्ञान अवलम्बन गर्न ढिलो गर्नुहुँदैन । यसरी नै कोरोना भाइरसले घरजग्गामा पार्ने असर समेत अनिश्चित देखिएको अवस्थामा नेपाली बजारमा घरजग्गाको मूल्यमा गिरावट आउने समेत देखिएको छ ।

मूल्यांकनकर्तालाइ कालोसूचिमा राख्ने कार्य र जटिल परिस्थितिमा जवाफदेही बनाउने कार्य गलत – सरोजकाजी तुलाधर- अध्यक्ष, नेपाल फाइनान्सियल इन्ष्टिच्युसनल एसोसिएसन

कोडिभ-१९ को असर घरजग्गामा पनि केही न केही त अवश्य पर्छ नै । बैंक तथा वित्तीय संस्थाले आफ्नो फाइदाको लागि मूल्यांकनकर्ताले सिफारिस गरेबमोजिम कर्जा उपलब्ध गराउने तर अप्ठ्यारो परिस्थिति सृजना भए त्यसको जवाफदेही स्वयं मूल्यांकनकर्तालाइ नै बनाउने प्रचलन छ, त्यो गलत हो । यस कार्यलाइ व्यवस्थित बनाउन जरूरी छ ।

मूल्यांकनकर्तालाइ कालोसूचीमा राखिने कार्य नेपाल राष्ट्र बैंकको गलत कार्य हो । उक्त कार्य विरूद्ध एकसाथ मूल्यांकनकर्ता एवं बैंकरहरूले आवाज उठाउनु जरूरी छ ।

फौजदारी अभियोग जटिल विभेद- इन्जिनियर नारायण कोइराला, कानुनी सल्लाहकार

बैंक तथा वित्तीय संस्थाहरू अन्तर्राष्ट्रिय नियमबाट बाँधिएका छन् तर नेपालका मूल्यांकन कार्य चाहिँ परम्परागत ढाँचामा हुनुपर्ने कानुनी जटिलताको मुख्य कारक हो । बौद्धिक कार्यलाइ फौजदारी अभियोग जस्तो जघन्य कार्यसँग जोड्नु मूल्यांकनकर्ता माथि राज्यले देखाएको जटिल विभेद हो ।

आजको विषम परिस्थितिमा मूल्यांकनकर्तालाइ कालोसूचीमा राख्ने एवं अपराधी जस्तो फौजदारी मुद्दामा अभियोग लगाउने कार्यलाइ नेपाल राष्ट्र बैंकले पुनः परिभाषित गर्नु जरूरी छ ।