उच्च अदालत पाटन र तुल्सिपुरले थप सेवा शुरु गर्ने

0
Shares

कोरोना भाइरसको जोखिमबाट बच्नका लागि सरकारले गरेको बन्दाबन्दीकै क्रममा रोकिएका सेवाहरु पुन सुचारु हुने भएका छन्। उच्च अदालत तुलसीपुरले आइतबारदेखि र उच्च अदालत पाटनले सोमबारदेखि थप सेवा उपलब्ध गराउने निर्णय गरेका हुन्।

उच्च अदालत पाटनले आगामी सोमबारदेखि बन्दाबन्दीको समयमा केही सेवा शुरु गर्ने भएको छ । अदालतले सोमबारदेखि मिलापत्र, मुद्दा फिर्ता, तामेली लगायतका सेवा थप गर्ने र बन्दाबन्दीमा मुद्दा फैसला हुन नसकी अभियागपत्रमा दाबी लिएको सजाय भन्दा बढी कैद थुनामा बसेकाको हकमा मुद्दाको सुनुवाइ गर्ने निर्णय गरेको अदालतमा उपरजिष्ट्रार शम्भुप्रसाद रेग्मीले जानकारी दिए।

यसअघि, अदालतले बन्दी प्रत्यक्षीकरणका निवेदनसहित अतिरिक्त म्याद थप, अभियोगपत्र दर्ता, बयान, थुनछेक आदेश, सरकारले दर्ता गर्ने पुनरावेदन लगायतका काम गर्दै आएको थियो ।

कोरोना भाइरस सङ्क्रमणको अवस्था भएकाले कानून व्यवसायी, सेवाग्राहीको उपस्थितिलाई व्यवस्थित गराउने अदालतको व्यवस्थापकीय पक्षसमेतलाई ध्यानमा राखी बन्दाबन्दीमा भन्दाबाहेकका अन्य मुद्दा सुनुवाइ गर्ने भएको हो ।

उच्च अदालत तुलसीपुरले आइतबारदेखि मुद्दा दर्ता र सुनुवाइ गर्ने

यसैगरि उच्च अदालत तुलसीपुरले आइतबारदेखि मुद्दा दर्ता तथा सुनुवाइ गर्न शुरु गर्ने भएको छ । बन्दाबन्दीका समयमा रोकिएको उक्त कार्य शुरु गरिने अदालतका रजिष्ट्रार रामप्रसाद भट्टराईले जानकारी दिए।

उनका अनुसार शुक्रबार बसेको बार र बेञ्चको संयुक्त बैठकले वाणिज्य मुद्दासम्बन्धी अभियोग दर्ता र थुनछेक, सरकारको पुनरावेदन दर्ता र प्रत्यक्ष नझिकाएको मुद्दाको सुनुवाइ, तारेख गुजारेका रिट निवेदनको सुनुवाइ, सरकारी निकायलाई विपक्षी बनाइएको निवेदन दर्ता र प्रारम्भिक सुनुवाइ, मिलापत्र र मुद्दाको फिर्ताको निवेदनको सुनुवाइ, बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता र सुनुवाइ तथा मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा ७३ बमोजिमको निवेदन र प्रतिवेदन तथा दफा १५५ बमोजिमको निवेदनको सुनुवाइ गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति: २४ जेष्ठ २०७७, शनिबार  १४ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।