सामुहिक लगानी कोषको दोहोरो करको विवाद तत्काल सुल्झाउन सुझाव

0
Shares

सरकारले सामुहिक लगानी कोष, प्राइभेट पेन्सन फण्ड, भेन्चर फण्ड, तथा अन्य बचत तथा लगानी कोषहरुमा लाग्ने दोहोरो कर सम्बनधी विवादहरु तत्काल समाधान गर्नुपर्ने मर्चेन्ट बैंकर एशोसिएसनका अध्यक्ष धु्रव तिमिलसिनाले बताएका छन् ।

धितोपत्र बजारमा सामुहिक लगानी कोष, पेन्सन फण्ड, भेञ्चर क्यापिटल लगायतका कोष निर्वाध रुपमा सञ्चालन हुने बातावरण तयार गर्न सरकारले अब ढिला गर्न नहुने तिमिलसिनाको भनाई छ।

सरकारले यस्ता कोषहरुलाई दोहोरो करको बोझवाट मुक्त गरी पूँजी परिचालनको माध्यमको रुपमा बिकास गर्नुपर्ने समेत उनको सुझाव छ । यस्ता कोषहरुमा सहभागीको संख्या वृद्धि गर्न लागि बचतकर्तालाई समेत प्रोत्साहन गर्ने खालका नीति अबलम्बन गर्नुपर्नेमा उनको जोड छ।

विगतको तुलनामा शेयर बजारमा सुधार भएको भएपनि पुर्ण विकास भने भै नसकेको उनले बताए । नेप्सेमा सुचिकृत धितोपत्र मध्ये बैंक तथा वित्तीय संस्थाहरुको बाहुल्यता रहेको हुदाँ अर्थतन्त्रको ठुलो हिस्सा पूँजी बजारवाट बाहिर रहेको उनको बुझाइ छ । उत्पादन मूलक जस्तो अर्थतन्त्रको ठुलो हिस्सा शेयर बजार भन्दा बाहिर रहेको हुदाँ पूँजी बजारले अर्थतन्त्रको बास्तविक प्रतिनिधित्व गर्न नसकेको समेत उनले बताए।

सजग र विवेकशील लगानीकर्ताको संख्यामा कमी, संस्थागत लगानीकर्ताको न्यून उपस्थिती, लगानी सम्बन्धी परामर्श प्रदायक संस्थाहरुको अनुपस्थितीले समय समयमा पूँजी बजारमा अस्वभावीक उतारचढाव आउने गरेको विश्लेषण समेत उनको छ । बजारका लागि आवश्यक पूर्वाधारहरु भएपनि तिनको उच्चतम प्रयोग हुन नसकेको उनको तर्क रहेको छ ।

सामुहिक लगानी कोषले बजारको आवश्यकता अनुसार भुमीका खेल्न नसकेको भन्ने गुनासाहरु सुन्नमा आउने गरेको बताउदै उनले भने, “पूँजी बजारमा बजारमा करिब १७ अर्ब रुपैयाँ बरावरको सामुहकि लगानी कोष सञ्चालनमा रहेका छन, यो आकारले बजारलाइ स्थायीत्व प्रदान गर्न सक्षम छैन । ”

धितोपत्र बजारलाई स्थायीत्व प्रदान गर्न मात्र नभै बजारको गहिराइ तथा चौडाई वृद्धि गर्नका लागि तथा बचत परिचालनमा समेत महत्वपुर्ण भुमिका खेल्न सक्ने ट्रष्ट प्रकृतिका लगानी काषहरु जस्तै सामुहिक लगानी कोष, प्राइभेट पेन्सन फण्ड, भेन्चर फण्ड, तथा अन्य बचत तथा लगानी कोषहरु निर्वाध रुपमा सञ्चालन हुने बातावरण राज्य निमार्ण अतिनै आवश्यक रहेको उनको ठम्याई छ ।

प्रकाशित मिति: २६ जेठ २०७७, सोमबार  १० : २० बजे