सहयोगी विकास बैंक गाभ्ने प्रस्ताव पारित, सिटिजन्सको ९१.७५ कित्ता शेयर पाउने

0
Shares

सहयोगी विकास बैंकका शेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९१.७५ कित्ता शेयर पाउने भएका छन्।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको मंगलबार सम्पन्न पाँचौं विशेष साधारण सभाले सहयोगी विकास बैंक लिमिटेडको १०० कित्ता शेयरलाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९१.७५ कित्ता शेयर दिने गरी शेयर मूल्य अनुपात कायम गर्दै प्राप्ती गने प्रस्ताव अनुमोदन गरेको हो।

बैंक सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीको अध्यक्षतामा केन्द्रिय कार्यालय भवन, नारायणहिटी पथ, दरवारमार्ग, काठमाण्डौमा सम्पन्न भएको विशेष साधारण सभाले सहयोगी विकास बैंक लिमिटेड र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड बीच भएका प्रारम्भिक सहमति तथा अन्तिम सम्झौतापत्रहरुको समेत अनुमोदन गरेको छ ।

जनकपुरमा केन्द्रिय कार्यालय रहेको सहयोगी विकास बैंक लिमिटेडको यसअघि जेठ २४ गते, शनिबार सम्पन्न विशेष साधारण सभाले समेत सहयोगी विकास बैंक लिमिटेडलाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्राप्ति गर्न स्वीकृति प्रदान गरिसकेको छ ।

दुबै बैंकको विशेष/वार्षिकसाधारण सभाले स्वीकृति दिएसँगै सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई सहयोगी विकास बैंक लिमिटेड प्राप्ति गर्नका लागि बाटो खुलेको हो । यसै आर्थिक वर्ष भित्रमा सहयोगी विकास बैंक लिमिटेडलाई प्राप्ति गरी संयुक्त कारोबार प्रारम्भ गर्ने गरी तयारीहरु भइरहेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका अध्यक्ष राजनसिंह भण्डारीले जानकारी दिए।

कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असर एवं लकडाउनलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी बैंकले नवीन शैली प्रयोगमा ल्याउँदै डिजिटल प्लाटफर्म जुम मार्फत बैंकले पाचांै विशेष साधारण सभा संचालन गरेको हो ।

विश्वका अधिकांश मुलुकहरु कोरोना भाइरसको महामारीबाट आक्रान्त बनेको अवस्थामा डिजिटल प्लाटफर्ममा उल्लेखनीय सहभागिताकालागी शेयरधनीहरुलाई बैंक संचालक समितिका सम्पूर्ण सदस्यहरुले आभार प्रकट गरे । यसका साथसाथै प्राप्ति पश्चात बैंकको आन्तरिक वित्तीय, मानवश्रोत, प्राविधिक एवं अन्य क्षमता अभिवृिद्ध हुने कुरा व्यक्त गरे ।

यस्तो हुनेछ एकीकृत बैंकको अवस्था

२०७७ जेठ २६ गते सम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सहयोगी विकास बैंक लिमिटेडलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप ८७ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी ७९ अर्ब ६२ करोड रुपैयाँ पुग्नेछ ।

सहयोगी विकास बैंक प्राप्ति पश्चात बैंकको कुल शाखा १०८ हुनेछ । हाल सिटिजन्स बैंकइन्टरनेसनल लिमिटेडको चुक्ता पूँजी ८ अर्ब ६२ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी ९ अर्ब ८ करोड रुपैयाँ हुनेछ ।

धनुषा, महोत्तरी, सिराहा, सर्लाही र सिन्धुली जिल्ला कार्यक्षेत्र भएको यस सहयोगी विकास बैंक लिमिटेडले १४ वटा शाखाहरूबाट बैंकिंग सेवाहरू प्रदान गर्दै आएको थियो ।

यी पाँच जिल्लामा हाल सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९ वटा शाखाहरू संचालनमा रहेकोमा यस बैंकको प्राप्ति संगै २३ वटा शाखाहरू संचालनमा आउने छन् जसबाट यस क्षेत्रका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

प्रकाशित मिति: २७ जेठ २०७७, मंगलबार  १६ : २६ बजे