चालु आवमा नेपालको आर्थिक वृद्धिदर १.८% , आगामी वर्ष २.१ प्रतिशत- विश्व बैंक

0
Shares

विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर १. ८ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । यो नेपाल सरकारले अनुमान गरे भन्दा ०.५ प्रतिशत कम हो ।

सरकारले कोरोना महामारी तथा बन्दाबन्दीका कारण चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर २.३ प्रतिशतमा खुम्चने प्रक्षेपण गरेको हो ।सरकारले चालु बजेटमा मार्फत भने ८.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको थियो।

यसअघि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले यस वर्ष नेपालको वृद्धिदर १.२ मात्र रहने बताएको छ।

सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ (सन् २०२१) का लागि ७ प्रतिशतको वृद्धिदरको लक्ष्य राखे पनि विश्व बैंकले लक्ष्यभन्दा निकै तलमात्र वृद्धिदर हासिल हुने प्रक्षेपण गरेको छ । विश्व बैंकका अनुसार कोरोना भाइरस महामारीका कारण आगामी वर्ष नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुनेछ ।

कोरोनाका कारण औद्योगिक उत्पादन ऋणात्मक रहेको र विश्व निर्यात घट्नुका साथै विप्रेषणमा उल्लेख्य कमी आउने भएकाले अर्थतन्त्रमा संकुचन आउने उसको भनाइ छ ।

एक तिहाइ भारतीय र चिनियाँ पर्यटकमा निर्भर रहेको पर्यटनमा उल्लेख्य कमी आएकाले आर्थिक वृद्धिदर १.८ मा सीमित रहने बैंकको भनाइ छ । निर्यातमूलक उद्योग प्रभावित बनेको र लकडाउनले अल्पकालीन आर्थिक गतिविधिमा समेत रोकावट आएकाले अर्थतन्त्रमा प्रभाव पारेको विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ ।

नेपालसहित दक्षिण एशियाली मुलुक कोरोना भाइरसबाट प्रभावित रहेको र यसको रोकथामका लागि सरकारहरूले अपनाएको विधिबाट अर्थतन्त्र बढी प्रभावित भई आर्थिक वृद्धिदरमा ठूलो कमी आउने विश्व बैंकको प्रक्षेपण छ ।

‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट्स- २०२०’ प्रतिवेदनमा कोरोनाभाइरस महामारीका कारण यस वर्ष २०२० मा विश्व अर्थतन्त्रको वृद्धिदर ५.२ प्रतिशत ऋणात्मक रहने अनुमान विश्व बैंकले गरेको छ । यो कमी दोस्रो विश्व युद्धयताकै सबैभन्दा कम हो।

विश्व अर्थतन्त्रमा परेको यो खाडल आगामी वर्ष भने केही पूर्ति हुनेछ । सन् २०२१ मा ४.२ प्रतिशतको वृद्धिदर अनुमान गरिएको छ । सन् २०२० मा अमेरिकी अर्थतन्त्र ७ प्रतिशतसम्मको संकुचनमा जाने तथा चीनको आर्थिक वृद्धिदर १ प्रतिशतमा समेटिने विश्व बैंकको भनाइ छ।