लकडाउनको नयाँ मोडालिटी आज ‘फाइनल’ गरिने- प्रधानमन्त्री

0
Shares

सरकारले हाल लागू गरेको लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय आज गर्ने भएको छ।  बुधबार  बस्ने मन्त्रिपरिषदको बैठकले लकडाउनको नयाँ मोडालिटी सार्वजनिक गर्ने भएको हो ।

आगामी बजेटका सन्दर्भमा सांसदहरुले संसदमा उठाएका प्रश्नहरुको जवाफ दिदै प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको नयाँ मोडालिटीबारे आज बस्ने मन्त्रिपरिषदको बैठकले निर्णय गर्ने जानकारी दिए।

प्रधानमन्त्री र मन्त्रीहरू संसदमा व्यस्त भएपछि मंगलबारको बैठक सारिएको थियो। आजको बैठकदुई बजे बस्ने भएको छ ।

आज बस्ने मन्त्रिपरिषद् बैठकले कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले तयार पारेको लकडाउनको नयाँ मोडालिटीलाई अन्तिम रुप दिनेछ ।

उच्चस्तरिय समितिले असार एक गतेदेखि चरणबद्ध रुपमा लकडाउन खुकुलो बनाउने प्रस्ताव गरेको छ। दुई–दुई हप्तामा मोडालिटी परिवर्तन गर्दै जनजीवन सहज बनाउने प्रस्तावमा छ । सुरुका दुईहप्ता केही सेवाप्रदायक संस्था खुकुलो पारेपछि त्यसको अनुभवका आधारमा लकडाउनको स्वरुप दोस्रो तहमा लैजाने योजना छ ।

समितिले असार एक गतेपछि विभिन्न ६ चरणमा ७० दिनमा चरणबद्ध रुपमा लकडाउन खुकुलो बनाउने प्रस्ताव गरेको छ । जनजीवन, आर्थिक गतिविधिको निरन्तरता र नियमितताको सन्तुलन राख्न लकडाउनको हालको स्वरुप परिवर्तन गर्न लागिएको हो । पहिलो चरणमा कृषि, दैनिक उपभोग्य सामाग्री वितरक केन्द्रहरु खोल्ने तयारी छ ।

जेठ १७ गतेको मन्त्रीपरिषद बैठकले समितिलाई लकडाउनको नयाँ स्वरुप टुंगो लगाउने जिम्मेबारी दिएको थियो । लामो छलफलपछि समितिले त्यसलाई अन्तिम रुप दिन लागेको हो ।

सरकारले लकडाउन खुकुलो बनाउने योजना टुग्याउन नसक्दा काठमाडौं उपत्यका सहित देशभर ब्यापारीहरुले धमाधम पसल खोल्न थालेका छन् । सडकमा सवारीसाधनको चाप पनि बढेको छ । सरकारले पछिल्लोपटक जेठ ३२ गतेसम्म लकडाउन थप गरेको छ । सरकारले गत चैत ११ गतेदेखि लकडाउन गर्दै आएको छ।