आफ्ना नागरिक स्वदेश फर्काउने नाममा सरकार नै व्यवसायमा ओर्लियो, थाइल्याण्डबाट नेपाल आउनेलाई चर्को मूल्य


सरकारले थाइल्याण्ड रहेका नेपाली नागरिकलाई स्वदेश फर्काउने क्रममा चर्को हवाई मूलय तिर्न बाध्य बनाउने भएको छ । नेपाल एयरलाइन्सको चार्टर्ड फ्लाइटबाट नेपाली नागरिकलाई स्वदेश फर्काउन लागिएको भन्दै थाइल्याण्डस्थित नेपाली राजदुतावासले हवाई टिकट काट्न आग्रह गरेको छ ।

दुतावासका अनुसार एक जना यात्रुको भाडा ४७ हजार ३०० रुपैंया तोकिएको छ । स्वदेश फर्किन चाहने कमजोर आर्थिक अवस्था भएकाहरुले पनि जुन सुकै हालतमा उल्लेखित रकमको टिकट काट्नु पर्ने भएको छ । आफ्ना नागरिकलाई स्वदेश फर्काउनका लागि सरकारले आर्थिक अवस्था अनुसारको व्यवस्था गर्नु पर्ने भए पनि त्यसो नगर्दा अन्य मुलुकबाट पनि नेपाल आउनेहरु चर्को हवाई मूलय तिर्न बाध्य हुने भएका छन् ।

जेठ १६ गते तदनुसार मे २९ तारिखका दिनको सूचनाका आधारमा नाम टिपाएका २८६ जनालाई स्वदेश फर्काउन लागिएको हो । जसमा २६० जनाले स्वदेश आउने निधो गरिसकेका छन् भने अन्य २६ जना वेटिङ सूचीमा रहेको दुतावासले जनाएको छ ।

दुतावासका अनुसार आगामी असार ३ गते थाइल्याण्डबाट नेपाल एयरलाइन्सले उल्लेखित नेपालीलाई काठमाण्डौं ल्याउने छ । उक्त फ्लाइटबाट काठमाण्डौं आउनका लागि अनलाइनबाट दर्ता भएका यात्रुले जेठ ३१ गते भित्रमा हवाई टिक खरिद गरिसक्नु पर्ने दुतावासले जनाएको छ ।

यसका लागि बैंककस्थित नेपाल एयरलाइन्सको कार्यालयमा ०२२६६७१४६ र ०२२६६७१४७ मा सम्पर्क गर्न भनिएको छ । नेपालस्थित आफन्तले टिकट खरिद गरिदिनका लागि नेपाल एयरलाइन्सको ०१ ४२२०७५७, ०१ ४२४८६०७ र ०१ ४२४८६१४ मा सम्पर्क गर्नु पर्ने बताइएको छ ।

उक्त फ्लाइटबाट नेपाल आउन चाहनेहरुले पछिल्लो सात दिन भित्रको पिसिआर परिक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य रुपमा बुझाउनु पर्नेछ ।