अरुण काबेलीको नाफा साढे ४ करोड बढी

0
Shares

अरुण काबेली पावर लिमिटेड (AKPL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४ करोड ५३ लाख ६२ हजार रुपैयाँ खुद नाफा गरेको छ ।बिद्युत बिक्री आम्दानीमा उल्लेख्य वृद्धिसँगै कम्पनीको खुद नाफा पनि बढेको हो ।

गत आवको यसै अवधिमा कम्पनीले १ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

गत कात्तिक २३ गतेदेखि व्यवसायिक उत्पादन थालेको यस कम्पनीले चैत मसान्तसम्ममा विद्युत बिक्रीबाट २२ करोड १ लाख १७ हजार रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी ४.०२ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १०१.९९ छ । नाफा बढेसँगै कम्पनीको जगेडा कोष १ करोड ५३ लाख ८९ हजार ऋणात्मकबाट २ करोड ९८ लाख ५१ हजार रुपैयाँले सकारात्मक भएको छ ।

कम्पनीको तेस्रो त्रैमाससम्म कर्जा कोष ३ अर्ब १८ करोड ८० लाख रहेको छ।

तेस्रो त्रैमाससम्ममा कम्पनीले २२ करोड ५ लाख ४८ हजार आम्दानी गरेको छ । गत आवको यसै अवधिमा १६ लाख ९३ हजार कुल आम्दानी गरेको थियो। अन्य श्रोतबाट पनि ४ लाख ३० हजार आम्दानी गरेको छ ।

अरुण काबेलीले पाँचथर र ताप्लेजुङ सीमा भएर बग्ने काबेली नदीको पानीबाट २५ मेगावाट क्षमताको काबेली बी-१ जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गर्दै आएको छ ।