सरकारले जारी लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन खुकुलो बनाउने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बिहीबारको पत्रकार सम्मेलनमा जानकारी दिए ।
अर्थमन्त्री र सञ्चारमन्त्री समेत रहेका खतिवडाले स्वास्थ्यसँग सम्वन्धित सबै सेवा खुला गर्ने निर्णय भएको जानकारी दिए । जसमा निजी क्लिनिक समेत सञ्चालन हुनेछन् ।
मन्त्रिपरिषद बैठकले सबै सरकारी तथा गैरसरकारी संस्था, शिक्षण संस्था (पठनपाठन कार्य बाहेक), निजी तथा सार्वजनिक संस्थाहरु समेतका कार्यालयहरु, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीहरु दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता डा. खतिवडाले जानकारी दिए ।
उनका अनुसार अब पहिलो सिफ्ट बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म चल्नेछ भने अर्को सिफ्ट दिउँसो १ बजेदेखि बेलुकी ६ बजेसम्म चल्नेछ । यो निर्णयले आर्थिक वर्षको अन्त्यमा हुने कामको चापलाई व्यवस्थापन गर्न सहयोग पुग्ने समेत उनको विश्वास छ ।
यसैगरी सबै प्रकारका कृषि र पशुपक्षी सेवा, उत्पादन र बिक्री खुला गरिएको छ भने उद्योग, व्यापार, व्यवसाय, पसलहरु, डिपार्टमेन्टर स्टोरहरु खुला गरिएको खतिवडाले बताए । तर सपिङ मल भने खोल्ने निर्णय भएको छैन ।
यस्तै सबै प्रकारका ढुवानी सेवा पनि खुला गरिएको छ । यसैगरी व्यक्तिहरुको पैदल आवागमन खुला गरिएको छ । तर भिडभाड नगर्न र सुरक्षा अपनाउन सरकारले अनुरोध गरेको छ। यसैबीच, अबदेखि कार्यालय बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म खुल्ने भएको छ ।
प्रतिक्रिया