घुस लिएको अभियोगमा मालपोत कार्यालयका नायब सुब्बा मुद्दा दायर

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय लेखनाथ, कास्कीका नायब सुब्बा दीपक सुवेदीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सेवाग्राहीको नाममा दर्ता रहेको जग्गा रोक्का गर्ने कार्य सहजीकरण गरिदिने भन्दै नायब सुब्बा सुवेदीले सेवाग्राहीसँग रु तीन हजार घुस लिएको पाइएको आयोगले जनाएको छ ।

बैंकबाट कर्जा निकालिदिने प्रयोजनार्थ जग्गा रोक्का गराउन पुगेका सेवाग्राहीलाई अनेक बहाना बनाएर घुस माग्दै गरेको अवस्थामा आयोगले केही समय पहिले उनलाई पक्राउ गरेको थियो ।

आरोपी सुवेदीलाई बिगो अनुसारको कारवाही र कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

प्रकाशित मिति: ३२ जेठ २०७७, आइतबार  २० : ०७ बजे