समता लघुवित्त वित्तीय संस्था लिमिटेड र घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडबीच सोमबार एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति सम्झौता भएको सम्पन्न भएको छ।
लघुवित्त सञ्चालक समितिको जेठ २३ गते सम्पन्न ९५ औं बैठकको निर्णय अनुसार असार १ गते सोमबार बिहान ११ बजे सैद्धान्तिक सहमति पत्रमा हस्ताक्षर भएको हो।
सोमबार आयोजित एक समारोहकाबीच समताको तर्फबाट संचालक समितिको अध्यक्ष डम्मरमणि थेवे लिम्वु र घरेलु लघुवित्तको तर्फबाट संचालक समितिको अध्यक्ष आङ्ग देण्डी शेर्पाले सम्झौता पत्रमा हस्ताक्षर गरेको छन् ।
समता लघुवित्तका कम्पनी सचिव विश्व श्रेष्ठका अनुसार दुई लघुवित्तबीच १०० बराबर ८० शेयर स्वाप रेसियोमा मर्जर हुने प्रारम्भिक सम्झौता भएको हो। उनका अनुसार दुबै कम्पनीको सम्पत्ति तथा दाायित्व मूल्याङ्कन प्रतिवेदनका आधारमा अन्तिम निर्णय हुनेछ।
मर्जरपछि बन्ने संस्थाको नाम समता घरेलु लघुवित्त वित्तीय संस्था हुने र केन्द्रीय कार्यालय बनेपा रहने गरी सम्झौता गरिएको बताइएको छ। मर्जर पश्चात वित्तीय संस्थाको कूल चुक्ता पूँजी २४ करोड ७३ लाख ९६ हजार रुपैयाँ हुनेछ।
बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा केन्द्रीय कार्यालय रहेको समता लघुवित्तको हाल चुक्ता पूँजी १९ करोड ११ लाख रुपैयाँ रहेको छ। १० जिल्लामा २४ वटा शाखा कार्यालयहरु मार्फत करिव ३७ हजार ग्राहक सदस्यहरुलाई लघुवित्तीय सेवा दिदै आइरहेको यस वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेश्रो त्रैमासिक सम्म कर्जा लगानी १ अर्व ६६ करोड रुपैयाँ गरेको छ भने निक्षेप संकलन ६३ करोड ८९ लाख रुपैयाँ छ। उक्त अवधि सम्मको कुल आम्दानी ५ करोड ३१ लाख रहेको वित्तीय विवरण प्रकाशन समेत गरेको छ।
उता काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नम्बर ८ मा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको घरेलु लघुवित्तको चुक्ता पूँजी ७ करोड ३ लाख रुपैयाँ रहेको छ। ११ जिल्लामा १३ वटा शाखा तथा ६ हजार सदस्य रहेको घरेलुले चालु आर्थिक वर्षको तेश्रो त्रैमासिक सम्म कर्जा लगानी २१ करोड १७ लाख रुपैया गरेको छ भने निक्षेप संकलन ४ करोड ३५ लाख रुपैयाँ गरेको छ। उक्त अवधि सम्म कुल आम्दानी ५९ हजार रहेको छ।
समताको शेयर कारोबार रोक्का
समता लघुवित्त र घरेलु लघुवित्त बीच मर्जर सम्झौताको सैद्धान्तिक सहमति पत्रमा हस्ताक्षर भएपश्चात नेप्सेमा सूचीकृत समता लघुवित्तको शेयर कारोबार रोक्का भएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बैंक तथा वित्तिय संस्था एक आपसमा गाभ्ने।गाभिने (मर्जर) तथा प्राप्ति सम्बन्धि विनियमावली, २०७३ को विनियम ६ (१) बमोजिम समता लघुवित्तको शेयर कारोबार रोक्का राखिएको हो। घरेलु लघुवित्त भने नेप्सेमा सूचीकृत छैन।
प्रतिक्रिया