सेञ्चुरी बैंकले शेयरधनीलाई खातामै वितरण गर्यो अन्तरिम लाभांश

0
Shares

सेञ्चुरी बैंक (CCBL) ले ३ प्रतिशत अन्तरिम लाभांश वितरण गरेको छ। बैंकले चुक्ता पूँजीको ३ प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीलाई उसको डिम्याट खातामा उल्लेख गरेको बैंक खातामा सोझै जम्मा गरेको हो।

बैंकले गत फागुन ३० गतेसम्म कायम रहेका शेयरधनीलाई चुक्ता पूँजीको ३ प्रतिशतले हुन आउने २५ करोड २४ लाख ६४ हजार १४७ रुपैयाँबाट कर कट्टी गरि २३ करोड ९८ लाख ६० हजार ९३९ रुपैयाँ लाभांश वितरण गरेको जनाएको हो।

यस्तै बैंकले हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरुलाई शीघ्र आफुसँग भएको कागजी शेयर प्रमाणपत्र अभौतिकिकरण गराई हितग्राही खातामा बैंक खाताको विवरण बुझाउन आग्रह गरेको छ।

बैंकले सिधै बैंक खातामा नगद लाभांश पठाउने भएकाले कागजी शेयर भएका र हालसम्म पनि डिम्याट खातामा बैंक खाता उल्लेख नगरेका शेयरधनीले उक्त कार्य नगर्दासम्म लाभांश पाउँदैनन्।

बैंकले लकडाउनको कारण गत आथिक वर्षको साधारण सभा गर्न नसकि स्थगित भएपछि महामारीको विषम समयमा राहात दिने उदेश्यले अन्तरिम रुपमा लाभांश बाँडेको हो।

गत आवबाट सञ्चालक समितिबाट प्रस्तावित २ बोनस शेयर र बाँकी १.७५ प्रतिशत नगद लाभांश भने साधारण सभाबाट लाभांश अनुमोदन भएपश्चात मात्र वितरण हुने बैंकले जनाएको छ।

बैंकले आव २०७५।७६ को मुनाफाबाट चुक्ता पूँजी ८ अर्ब ४१ करोड ५७ लाख ७१ हजार ५७६ रुपैयाँको ४.७५ प्रतिशत (३९ करोड ९७ लाख ३४ हजार ८९९ रुपैयाँ) नगद लाभांश र २ प्रतिशत बोनस वितरण गर्न यसअघि नै राष्ट्र बैंकबाट अनुमति पाइसकेको छ।

बैंकले गत आवबाट २ प्रतिशत बोनस र ४.७५ प्रतिशत नगद गरि कूल ६.७५ प्रतिशत लाभांश शेयरधनीलाई वितरण गर्नेछ।

प्रकाशित मिति: २ असार २०७७, मंगलबार  १३ : ०२ बजे