कोभिड–१९ विरुद्ध अग्रपङ्तिमा रहेर काम गरिरहेका चिकित्सक लगायत स्वास्थ्यकर्मीको सुरक्षाका लागि इजरायल सरकारले नेपाललाई विविध स्वास्थ्य सामग्री प्रदान गरेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज भएको सङ्क्षिप्त कार्यक्रममा नेपालका लागि इजराजयका राजदूत बेनी ओमेरले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई ती सामग्री हस्तान्तरण गरे।
त्यस अवसरमा मन्त्री ढकालले स्वास्थ्य उपकरण प्रदान गरेकामा इजरायल सरकार र त्यहाँका जनताप्रति कृतज्ञता व्यक्त गर्दै मित्रराष्ट्रहरूको साथ र सहयोगबाट कोरोनालाई परास्त गर्न सकिने विश्वास व्यक्त गरे।
राजदूत ओमेरले कोरोनाको महामारीविरुद्धको लडाइँमा आफ्नो देश र नेपाल एकसाथ रहेका भन्दै असहज अवस्थामा नै वास्तविक मैत्री प्रमाणित हुने बताए। आज प्रदान गरिएका सहायता सामग्रीमा ५५० वटा पीपीई, १० हजार थान मास्क, पाँच हजार पञ्जा, स्यानिटाइजर लगायत छन् ।
दक्षिण कोरियालीद्धारा ५० हजार पिसीआर किट प्रदान
दक्षिण कोरियाली सरकारले नेपाल सरकारलाई ५० हजार थान आर टि–पीसीआर किट प्रदान गरेको छ।
देशभर कोरोना सङ्क्रमण फैलिरहेकोले परीक्षणको दायरा बढाउन कोरियाली सहयोग नियोग (कोहका) ले आज ६ करोड २५ लाख बराबरको ती परीक्षण उपकरण आज सरकारलाई हस्तान्तरण गरेको छ ।
कोहकाका तर्फबाट यहाँस्थित कोरियली राजदूतावासको कार्यबाहक राजदूत सन चिल कोन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख स्वास्थ्य विशेषज्ञ तथा स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा. राजन पोखरेललाई हस्तान्तरण गरे।
कोरियाले आज २५ हजार थान परीक्षण उपकरण उपलब्ध गराएको तथा बाँकी स्वास्थ्य सामग्री आगामी शनिबारबाट प्रदान गरिने कोहकाले जनाएको छ ।
प्रतिक्रिया