एनआईसी एशिया लघुवित्तको आइपीओमा लकडाउन प्रभाव, तीन घण्टामा कति पर्यो आवेदन ?

0
Shares

एनआईसी एशिया लघुवित्तको आईपीओको आवेदनमा लकडाउनको प्रभाव परेको छ।

एनआईसी एशिया लघुवित्तको शेयर बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार सुरुवातको तीन घण्टा (अर्थात १ बजेसम्म) १९ हजार बढी आवेदन परेको छ। ती आवेदकबाट १२ करोड ५० लाख रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता माग भएको छ।

लघुवित्तले कर्मचारी र म्युचुअल फण्डलाई छुट्टाएर सर्वसाधारणमा ४४ लाख ४३ हजार २०० कित्ता शेयर निष्काशन गरेको हो। यस हिसाबले पहिलो तीन घण्टामा २८ प्रतिशत बढी आईपीओ बिक्री भएको छ।

लघुवित्तको आईपीहरुमा यसअघि सुरुवाती घण्टामा नै उच्च संख्याबाट आवेदन पर्ने गरेपनि लकडाउनको समय र सिडिएस एण्ड क्लियरिङ्गको मेरो शेयरमा बिहान केही समय आवेदनमा कठिनाई उत्पन हुँदा यस लघुवित्तको आईपीओमा भने सुरुवातको तीन घण्टामा पर्ने आवेदन संख्यामा केही कमी आएको हो।

अहिले मेरो शेयर सुचारु भैसकेको अवस्था भएपनि बिहान समस्या आएपछि लगानीकर्ताले आइपीओमा आवेदन गर्ने समय आइतबारसम्म रहेकाले पनि कम आवेदन दिएको हुनसक्ने आंकलन गरिएको छ।

एनआईसी एशिया लघुवित्तको आईपीओ अन्य लघुवित्तको आईपीओभन्दा ठूलो अर्थात यस क्षेत्रकै हालसम्मको ठूलो आइपीओ हो। धेरै शेयर र आवेदन समय प्रयाप्त रहेकाले पनि सुरुवातको घण्टामा अपेक्षा गरिएभन्दा कम आकर्षण भएको हुनसक्ने एक लगानीकर्ताले बताए।

लघुवित्तको आईपीओको मूल्य अन्य क्षेत्रका कम्पनीको तुलनामा धेरै हुने भएकाले पनि लघुवित्तको आईपीओको माग धेरै हुने गरेको छ। पछिल्ला दिनहरुमा आईपीओमा ४ लाख संख्यामा आवेदन पर्ने गरेको छ।

यसअघिको नेपाल पुनर्बीमा कम्पनीको आइपीओमा आवेदन गरेका लगानीकर्तामध्ये ८५ प्रतिशत आवेदन मेरो शेयर मार्फत परेको थियो। हाल लकडाउनका कारण कतिपय लगानीकर्ताहरुको मेरो शेयर खाताको म्याद सकिएकाले पनि पछिल्ला दिनहरुमा आवेदन बढ्नेछ।

प्रकाशित मिति: १० असार २०७७, बुधबार  १३ : १९ बजे