आईपिओको सिजन लाग्यो, साधना लघुवित्तले असार २१ गतेबाट जारी गर्ने

0
Shares

केहि समय अघि आर्थिक सम्वृद्धि लघुवित्तलाई प्राप्ती गरेर एकीकृत कारोबार थालेको साधना लघुवित्तले असार २१ गतेदेखि प्राथमिक शेयर जारी गर्ने भएको छ ।

लघुवित्तले ७ करोड ७ लाख ८० हजार बराबरको ७ लाख ७ हजार ८ सय कित्त आईपीओ जारी गर्ने भएको छ । जसमध्ये १० हजार ८९० कित्ता कम्पनीका कर्मचारी र ३५ हजार ३९० कित्ता सामुहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। सर्वसाधारणमा ६ लाख ६१ हजार ५२० कित्ता जारी हुनेछ।

लघुवित्तको आईपिओमा असार २१ गतेदेखि २४ गतेसम्म आवेदन गर्न पाइनेछ। जसम्मा न्यूनतम १० एकाई र अधिकतम १,००० एकाईहरूको लागि आवेदन राख्न सकिन्छ। लघुवित्तको आइपिओ निष्काशन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।

सर्वसाधारणलाई शेयर जारी गरेपछि ५० प्रतिशत हकप्रद बिक्री गर्ने योजना कम्पनीको छ । सर्वसाधारणमा शेयर जारी गरेपछि कम्पनीको चुक्ता पूँजी २१ करोड ७७ लाख ८० हजार पुग्नेछ । हकप्रद पछि पूँजी ३२ करोड नाघ्नेछ।

साथै लघुवित्तले अन्य कुनै लघुवित्त संस्थासँग गाभ्ने तथा गाभिँने, प्राप्ति गर्ने अख्तियारी समेत गत साधरणसभा बाट संचालक समितिलाई दिएको छ।

लघुवित्तले चालु आवको तेस्रो त्रैमाससम्ममा १ करोड ९० लाख ९१ हजार खुद नाफा आर्जन गरेको छ । गोरखामा केन्द्रीय कार्यालय रहेको लघुवित्तको चुक्ता पूँजी १४ करोड ७० लाख र वार्षिक प्रतिशेयर आम्दानी १७ रुपैयाँ ३२ पैसा रहेको छ । संस्थाको जगेडा कोषको आकार १ करोड १४ लाखबाट बढेर ४ करोड २ लाख पुगेको छ ।

प्रकाशित मिति: १२ असार २०७७, शुक्रबार  ०९ : ०२ बजे