गाउँपालिकाद्वारा सहुलियत दरमा ८० लाख ऋण

0
Shares

तनहुँको देवघाट गाउँपालिकाले साना उद्योगीका लागि सहुलियत दरमा ८० लाख रुपैयाँ ऋण प्रवाह गरेको छ । गाउँपालिकाले ४० जना साना उद्योगीका लागि सहुलियत दरमा ऋण प्रवाह गरेको जनाएको छ । व्यवसाय गर्न चाहने तर पैसाको अभाव भएका उद्यमी छनोट गरी उनीहरुलाई स्वरोजगार बनाउने उद्देश्य स्वरुप ६ प्रतिशत ब्याजमा ऋण लगानी गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिए । गाउँपालिकाका पाँचवटै वडाका युवायुवती छनोट गरी सहुलियत दरमा ऋण प्रवाह गरिएको थापाले जानकारी दिए ।

“हातमा सीप भएका तर रकम अभावमा व्यवसाय गर्न नसकेका व्यक्ति छनोटका लागि वडामार्फत सिफारिस भएर आएपछि ऋण प्रवाह गरेका हौँ”, उनले भने, “यसले गर्दा उनीहरुलाई उद्यमी बन्न सहयोग पु¥याएको छ ।” थापाका अनुसार गाउँपालिकाबाट ऋण लिएकाले तरकारी खेती, पशुपालन, किराना पसललगायत व्यवसाय गरेका छन् । ऋण लिएपछि सदुपयोग भए नभएको बारेमा पनि अनुगमन गरिरहेको उनले बताए ।
सहुलियत दरमा ऋण प्रवाह गर्नका लागि गाउँपालिकाले ऋण समिति बनाएको छ । सोही समितिले मूल्याङ्कनमा आधारमा ऋण प्रवाह गर्नेछ । यसरी ऋण लिएकाले दुई वर्षभित्र ऋण तिरिसक्नुपर्ने हुन्छ । “ऋण लिन चाहनेलाई लक्षित गरी वडाबाट फारम सङ्कलन गरिएको थियो, वडाध्यक्षले सिफारिस गरेर पठाएकालाई ऋण प्रवाह गरेका हौँ”, उनले भने ।

गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि भने यो कार्यक्रम सञ्चालन गर्न नसक्ने भएको छ । बजेट अभाव भएका कारण आगामी आर्थिक वर्ष ०७७÷७८ मा उक्त कार्यक्रम समावेश गर्न नसकिएको थापाले जानकारी दिए । युवा स्वरोजगार कोष कार्यक्रमअन्तर्गत गाउँपालिकाले चालु आर्थिक वर्षमा चितवन उद्योग वाणिज्य सङ्घको प्राविधिक सहयोग र गाउँपालिकाको आयोजना तथा आर्थिक सहयोगमा ४५ जना उद्यमीलाई उद्यमशीलता तालीम सञ्चालन गरेको थियो ।
गाउँपालिकाले कृषि, जनस्वास्थ्य, पर्यटन, पूर्वाधार विकास र वातावरण तथा विपद् व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राखेर आगामी वर्षका लागि ४० करोड ७५ लाख ५८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । कृषि, पशु स्वास्थ्य, उद्योग, पर्यटन र सहकारीको विकासको लागि पाँच करोड तीन लाख ५० हजार, कृषि क्षेत्रको लागि मात्रै दुई करोड बजेट विनियोजन गरिएको छ । पूर्वाधार क्षेत्रतर्फ गाउँपालिकाको भवन निर्माण र अन्य पूर्वाधार विकासको लागि ६ करोड २५ लाख ९८ हजार विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।