फट्याङग्राहरूको ठूलो बथान (सलह) नेपाल छिर्‍यो, बारा र सर्लाहीमा देखिएपछि किसानमा बढ्यो त्रास

0
Shares

भारत हुँदै सलहको एउटा सानो झुण्ड नेपाल छिरेको छ। बारा जिल्लामा सलहको सानो झुण्ड देखिएको कृषी मन्त्रालय स्रोतले जनाएको छ। भारतको बिहार हुँदै सलहको समूह नेपाल प्रवेश गरेको हो।

‘कृषि विकासका स्थानीय अधिकारीहरुले हामीलाई सर्लाही र बारामा केही दिनदेखि सलहको बथान देखिएको जानकारी गराउनु भएको छ’, कृषि मन्त्रालयका एक अधिकारीले भने, ‘तर कति ठूलो समूहमा आएको हो भन्ने पूर्ण जानकारी आइसकेको छैन।’ उनले बाराको निजगढ र सर्लाहीको नवलपुर आसपास क्षेत्रमा सलहको बथान देखिएको जानकारी आएको बताए।

पूर्व अफ्रिकाबाट शुरु भएको सलहको प्रकोप मध्यपूर्व हुँदै केही साताअघि पाकिस्तान र भारत आइपुगेको थियो, जसले अन्नबालीमा ठूलो क्षति पुर्याएको छ। भारतको उत्तर प्रदेशमा आइपुगेपछि कृषि मन्त्रालयले क्षति न्युनिकरण गर्न समिति गठन गरेको थियो।

सलह फट्याङग्राहरूको ठूलो बथान हो, जसको प्रकोपले गहुँ, तोरी, कपास, मकै लगायत खाधान्न बालीमा क्षति पुर्‍याउँछ। नेपालमा यसले पुर्याउन सक्ने क्षतिबारे कृषि मन्त्रालयले थप अध्ययन गरिरहेको छ।

हावाको दिशा पछ्याएर १ सय ३० किमिसम्म समूह बनाएर उड्ने यी किराको बथानमामा ४ देखि ८ करोड सम्मको संख्या हुने वेज्ञानिकहरू बताउँछन्।

प्रकाशित मिति: १३ असार २०७७, शनिबार  १२ : ४० बजे