पत्रकार र बोर्ड कर्मचारीलाई लाग्यो शेयरबजारमा इन्साइडर ट्रेडिङ्गको आरोप !

0
Shares

आगामी आर्थिक वर्ष २०७६/७७ का लागि नीति तथा कार्यक्रम निर्माणमा जुटेको धितोपत्र बोर्डले मंगलबार सरोकारवालाहरुबाट दर्जनौ सुझाब संकलन गरेको छ । लगानीकर्ता, ब्रोकर तथा धितोपत्र बजार सम्बन्धी जानकारसँग प्रत्यक्ष सुझाब लिएको बोर्डले प्राप्त सुझाबहरु नीति तथा कार्यक्रममा समेट्ने प्रतिवद्धता समेत जनाएको छ ।

कसले के दियो सुझाब ?

नेपाल इभेष्टर्स फोरमका उपाध्यक्ष तुलसी ढकालले शेयर बजार सम्बन्धी साक्षरताको धेरै कमी रहेको भन्दै त्यतर्फ ध्यान दिन आग्रह गरे । धेरैलाई प्राथमिक बजारमा खरिद गरेको शेयर दोस्रो बजारमा बिक्री गर्ने सम्बन्धमा जानकारी नभएको भन्दै तयसतर्फ ध्यान दिन बोर्डलाई आग्रह गरे ।

शेयर ब्रोकर एशोसिएसनका अध्यक्ष भरत रानाभाटले स्टक एक्सचेञ्जमा सूचीकृत भएका कम्पनीले त्रैमासिक वित्तीय विवरण समयमा सार्वजनिक नगरेको खण्डमा सूचीकृत हुनबाट रोक लगानु पर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिए । साथै उनले बैंकहरुलाई कुनै हालतमा पनि ब्रोकर लाइसेन्स दिन नहुने धारणा राखे । त्यस्तै उनले शेयर बजार सम्बन्धी तालिम दिने संस्थाहरूलाई लाइसेन्सको व्यवस्था गर्नुपर्ने सुझाब दिए ।

रोशनजङ कार्कीले स्टक डिलर सम्बन्धि स्पष्ट नीतिको अभावमा काम गर्न नसकेको गुनासो गर्दे बोर्डको ध्यानकर्षण गराए । कोषले पूँजी बजारमा लगानी गर्न छुट्टै कम्पनी खोल्ने तयारी गरेको भएपनि स्पष्ट नीति नभएकै कारण समस्या भएको उनले भनाई थियो । साथै उनले दोस्रो बजारमा ऋणपत्रको कारोबारलाई सहज बनाउनु पर्ने सुझाब दिए ।

नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले गैर आवसिय नेपालीलाई शेयर बजारमा प्रवेश गर्न सहजीकरण गर्नुपर्ने, सूचना प्रवाह व्यवस्थामा सुधार गर्नुपर्ने तथा ब्रोकरलाई उपत्यका बाहिर जान प्रोत्साहित गर्नुपर्ने सझुाव दिइन् ।

अधिवक्ता अमृत खरेलले आर्थिक पत्रकारहरुलाई दोस्रो बजारमा कारोबार गर्न दिने विषयम एक पटक सोच्नु पर्ने बताए । इन्साइडर ट्रेडिङ रोक्नकालागि शेयर दोस्रो बजारमा आर्थिक पत्रकारहरूले लगानी गर्न नपाउने व्यवस्था गर्नुपर्ने भन्दै आर्थिक पत्रकारहरूले सूचना प्राप्त गरी इन्साइड ट्रेडिङ्ग गर्ने गरेको र त्यसपछि इन्साइडर ट्रेडिङ्ग भयो भनेर लेख्ने गरेको उनको भनाई थियो ।

त्यस्तै उनले शेयर बजारमा हुने गरेको भित्री कारोबारमा बोर्डकै कमर्चारीको समेत संलग्नता हुने गरेको आरोप लगाए। यस्ता कार्यलाई निस्तेज गर्न बोर्ड कमर्चारी र उनीहरूको परिवारको समेत रोष्टर तयार गरी सूक्ष्म अध्यन गर्नुपर्नेमा खरेलले जोड दिए ।

शेयर बजार सुधारका अभियन्ता तथा लगानीकर्ता दिलिप मुनाकमीले सूचीकृत कम्पनीहरूको त्रैमासिक वित्तीय विवरणमा एकरूपता ल्याउन आवश्यक रहेको भन्द सही सूचना लुकाउने कम्पनीहरुप्रति बोर्डको निगरानी बढाउनुपर्ने धारणा राखे ।

कार्यक्रममा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बैकका सहायक कम्पनीलाई ब्रोकर र स्टक डिलरको काम गर्न दिने विषयमा अध्ययन चलिरहेको जानकारी गराए । साथै उनले त्यसलाई कार्यान्वयनमा लैजाने मोडल तयार गर्न बोर्ड र नेप्स जुटीरहेको बताए ।

बोर्डका तर्फबाट डा. नवराज अधिकारीले आर्थिक वर्षको कार्यप्रगति समिक्षा प्रस्तुत गरेका थिए भने बोर्ड अध्यक्ष डा. रेवतबहादुर कार्कीले आगामी आर्थिक वर्षमा बजार थप व्यव्थित बनाउने उद्घोष गरे । साथै उनले कार्यक्रममा उपस्थितहरुको सुझावलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेट्ने प्रतिवद्धता समेत जनाए ।