समस्याग्रस्तबाट उत्रिएको कर्पाेरेट डेभलपमेन्ट बैंक मर्जरको खोजीमा


नेपाल राष्ट्र बैंकको समस्याग्रस्त संस्थाको सूचीबाट मुक्त भएको कर्पोरेट डेभलपमेन्ट बैंक मर्जरमा जाने भएको छ । बैंकले यहि आषढ २७ गते बोलाएको एघारौ वार्षिक साधारणसभाबाट मर्जर प्रस्ताव पारित गर्दैछ । 

राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको तीन बर्षपछि गत माघमा समस्याग्रस्त संस्थाबाट मुक्त गरेको थियो । राष्ट्र बैंकले सात बुँदे शर्तसहित कर्पोरेट डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त संस्थाको सूचिबाट हटाएको थियो ।

बैंकले साधारणसभाबाट अन्य बैंक तथा वित्तीय संस्थासँग आपसमा गाभ्ने, गाभिने वा प्राप्तिमा जानका लागि सम्पूर्ण अख्तियारी संचालक समितलाई दिने भएको छ । 

संस्थागत सुशासन कमजोर र खराब कर्जा अत्यधिक भएपछि राष्ट्र बैंकले २०७१ साल पुस ४ गते उक्त बैंकलाई समस्याग्रस्त घोषणा गरेको थियो ।

बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ८ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। चुक्ता पूँजी ३६ करोड २२ लाख रुपैयाँ भएको बैंकको जगेडा कोष एक करोड ७० लाख रुपैयाँ नोक्सानीमा छ । बैंकको निष्कृय कर्जा अनुपात ३१.८१ प्रतिशतमा झरेको छ । बैंकको प्रतिशेयर आम्दानी ३० रुपैयाँ ४९ पैसा छ भने प्रतिशेयर नेटवर्थ ९५ रुपैयाँ ३० पैसा छ । बैंकको मूल्य आम्दानी ३.२१ गुणा छ ।