रसुवागढी हाइड्रोको घाटा चुलियो, निर्माण अवधि र लागत अझै बढ्ने

0
Shares

रसुवागढी हाइड्रोपावर कम्पनीको घाटा बढेको छ । खर्चका शिर्षकहरुमा आएको बढोत्तरी र व्याजबाट हुने आम्दानीमा आएको गिरावट तथा बन्दाबन्दीले काम प्रभावित भएपछि हाइड्रोको नोक्सानी बढ्दै गएको हो।

कम्पनीले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार अर्थात चैत मसान्तसम्म कम्पनी ६ करोड ४० लाख २६ हजार रुपैयाँ नोक्सानीमा पुगेको छ। गत आवको यसै अवधिमा कम्पनी १ करोड ६ लाख ९५ हजार रुपैयाँले मुनाफामा थियो। कम्पनीको सञ्चालन नाफा ३ करोड २३ लाख रुपैयाँ ऋणात्मक छ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा १ करोड ९५ लाख २० हजार प्रशासनिक खर्च गरेको हाइड्रोको चालु आर्थिक वर्षको यसै अवधिमा बढेर २ करोड ९५ लाख ६५ हजार रुपैयाँ पुगेको छ ।

विद्युत उत्पादन सुरु नभएको हाइड्रोको ब्याज आम्दानी ह्वात्तै घट्दा कम्पनी नोक्सानीमा पुगेको हो। चालु आवको ९ महिनामा कम्पनीले ९५ लाख २२ हजार रुपैयाँ मात्र ब्याज आम्दानी गरेको छ। जबकी गत आवको यहि अवधिमा कम्पनीले ३ करोड ३७ लाख ३० हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो।

६ अर्ब १५ करोड ७८ लाख ९० हजार रुपैयाँ चुक्ता पूँजी रहेको हाइड्रोको जगेडा कोष १९ करोड २७ लाख ७० हजार रुपैयाँले ऋणात्मक छ। कम्पनीले नोक्सानी व्यहोरेसँगै प्रतिशेयर आम्दानी पनि एक रुपैयाँ ३९ पैसा ऋणात्मक रहेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ ९६ रुपैयाँ ८७ पैसा कायम भएको छ।

यससँगै जनताको जलविद्युतमा सम्मिलित आयोजनामा लगानी गरेका लगानीकर्ताले छिटो लाभांश पाउने आशामा तुषारापात हुने देखिएको छ । आयोजनाको भौतिक प्रगति ७८ प्रतिशतमात्र रहेकाले कम्पनीबाट लाभांश पाउने समय पर धकेलिने भएको छ । २०७७ असार मसान्तसम्ममा निर्माण पूरा गर्ने योजना हाइड्रोले बनाएपनि सो अवधिमा आयोजना बन्ने अवस्था देखिन्न। आयोजनाको २२ प्रतिशत निमार्णको काम अझै बाँकी रहेको छ ।

रसुवाको गोसाईकुण्ड गाउँपालिका १ र २ मा निर्माणाधिन आयोजना १११ मेगावाटको हो । विद्युत खरिद बिक्री सम्झौता (पीपीए) मा उल्लेख भए अनुसार आयोजनाको लागत १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ हुने अनुमान गरिएकोमा विदेशी मुद्रा सटहीदर, प्राकृतिक विपत्ति, र बन्द हड्तालले आयोजनाको लागत बढ्ने वित्तीय विवरणमा उल्लेख छ। साथै पछिल्लो समय कोरोनाको कारण आयोजनाको काम बन्द हुँदा पनि थप आर्थिक भार व्योहोर्नुपर्ने अवस्था देखिएको छ।

नेपाल विद्युत प्राधिकरणले आयोजनाको विद्युत हिउँदमा ८ रुपैयाँ ४० पैसा प्रतियुनिट र वर्षयाममा ४ रुपैयाँ ८० पैसा प्रतियुनिटको दरमा विद्युत खरिद गर्ने सम्झौता भैसकेको छ । यसबाट कम्पनीले वार्षिक ३ अर्ब २५ करोड रुपैयाँभन्दा धेरै आम्दानी हुने उल्लेख छ ।आयोजना निर्माण भएर पूर्ण रुपमा विद्युत उत्पादन थालेको अवस्थामा हाइड्रोले वार्षिक ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत उत्पादन गर्नेछ।

आयोजनामा ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत साधारण शेयर स्वामित्व रहेको छ। जसमध्ये नेविप्राको १८ प्रतिशत, चिलिमेको ३२.७९ प्रतिशत, रसुवाको स्थानीय तहको ०.२१ प्रतिशत गरि ३ अर्ब ४८ करोड ९४ लाख ७१ हजारको संस्थापक शेयर र सर्वसाधारणका लागि २ अर्ब ६६ करोड ८४ लाख १९ हजार गरि कूल ६ अर्ब १५ करोड ७८ लाख ९० हजारको शेयर स्वामित्व छ।