मौद्रिक नीति शुक्रबार, शेयर धितो कर्जाको मूल्यांकन सीमा बढ्ने

0
Shares

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकले शेयर धितो कर्जाको मूल्याङ्कन सीमा बढाउने भएको छ ।

राष्ट्र बैंक स्रोतका अनुसार शेयर धितोको सीमा ५ प्रतिशत बढाईने भएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत शेयरधितोको कर्जा ७० प्रतिशत कायम गर्न लागेको राष्ट्र बैंकका एक उच्च अधिकारीले नोट बजारलाई जानकारी दिए।  

नेपाल धितोपत्र बोर्डले शेयर धितो कर्जाको सिमा ६५ बाट ७५ प्रतिशत पुर्याउन सिफारिस गरेको थियो भने शेयर लगानीकर्ताले शेयर धितो कर्जाको सीमा ८० प्रतिशत पुर्याउने माग गर्दै आएका थिए ।

बोर्डले शेयर बजार सुधारका लागि चार सुत्रीय सुझाव राष्ट्र बैैंकलाई दिएको थियो।

बोर्डले बैंक तथा वित्तीय संस्थाहरुले शेयर धितोमा प्रवाह गर्ने कर्जामा शेयर मूल्यांकनकोे ७५ प्रतिशतसम्म कर्जा प्रवाह गर्न सक्ने र १० प्रतिशत भन्दा बढी मूल्य घटेको अवस्थामा मात्रै मार्जिन कल गर्ने व्यवस्था गर्न उपयुक्त हुने सुझाब दिएको थियो।

त्यसैगरी हालको महामारी तथा विषम परिस्थितिको अवस्थालाई दृष्टिगत गरी व्याज तिर्नुपर्ने समय २०७७ आश्विन मसान्तसम्म बढाईदिने र मार्जिनको सीमा भित्रै रहेका ऋणहरु बक्यौता रकममा नै नविकरण गरिदिने व्यवस्था गर्न बोर्डले आग्रह गरेको थियो।

त्यस्तै बैंक तथा वित्तीय संस्थाहरुले धितोपत्र दलाल व्यवसायीलाई मार्जिन कारोबारका लागि प्रवाह गर्ने ऋणको व्याजदर बैंक स्वयंले प्रत्यक्ष शेयर धितोमा प्रवाह गर्ने कर्जाको व्याजदर भन्दा कम हुने व्यवस्था गर्न पनि धितोपत्र बोर्डले सुझाब दिएको थियो।