पूँजी बढाउने योजनामा ग्लोबल आईएमई लघुवित्त, बोनस पछि फेरी शतप्रतिशत हकप्रद


ग्लोबल आईएमई लघुवित्तले बोनस र हकप्रदबाट चुक्ता पूँजी ५२ करोड रुपैंया पुर्याउने भएको छ ।

चुक्ता बढाउने लक्ष्य अनुरुप बोनस तथा हकप्रदको बाटो रोजिएको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत किरण कुँवरले नोटबजारलाई जानकारी दिए ।

प्रमुख कार्यकारी कुँवरका अनुसार गत अशोजमा बिक्री भएको शतप्रतिशत हकप्रदलाई समेत गरी लघुवित्तले १७.५ प्रतिशत बोनस शेयर बितरण गर्ने छ । बोनसलाई कर प्रयोजनका लागि २० लाख ३४ हजार ७४३ रुपैंया नगद लाभांस पनि बितरण गरिनेछ ।

आगामी साधारण सभाले लाभांस स्वीकृत गरे पछि सोही साधारण सभाले बोनस पछि कायम हुने पूँजीको शतप्रतिशत हकप्रद निष्काशनको प्रस्तावलाई अनुमोदन गर्नेछ । आइतबार साँझ बसेको लघुवित्त सञ्चालक समितिको बैठकले हकप्रद निष्काशन गर्ने निर्णय गरेको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत कुँवरले नोटबजारलाई बताए ।

अहिले लघुवित्तको चुक्ता पूँजी २२ करोड ९ लाख १५ हजार रुपैंया छ । १७.५ प्रतिशत बोनस बितरण पश्चात लघुवित्तको चुक्ता पूँजी २५ करोड ९५ लाख ७५ हजार १२५ रुपैंइा पुग्नेछ । यो चुक्ता पूँजीको शतप्रतिशत हकप्रद बिक्री पश्चात लघुवित्तले चालु आर्थिक वर्ष भित्रमा नै चुक्ता पूँजी ५१ करोड ९१ लाख ५० हजार २५० रुपैंया पुर्याउने छ ।

बोनस तथा हकप्रदको चक्रबाट लगानीकर्तालाई भार नपर्ने गरी पूँजी बढाउन लागिएको प्रमुख कार्यकारी कुँवरले जानकारी दिए ।

हकप्रद तथा बोनस शेयर बितरणको प्रस्ताव अनुमोदन गर्नका लागि लघुवित्तले आगामी मंसिर ९ गते साधारण सभा बोलाएको छ ।