सत्र लाख भष्ट्रचारको आरोपमा विराटनगर भन्सारका तत्कालीन प्रमुख बस्नेत विरुद्ध आरोप पत्र दायर

0
Shares

विराटनगर भन्सार कार्यालय, मोरङका तत्कालीन प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतले १७ लाख भ्रष्टाचार गरेको आरोपमा अख्तियारले विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको छ ।

बस्नेतले विदेशबाट सामान आयात निर्यात गर्ने क्यारिङ व्यवसायीसँग आयात गरीएका सामानहरु भन्सारबाट छुटाउने प्रयोजनको लागि १७ लाख घुस लिएको अख्तियारको ठहर छ ।

बस्नेतलाई १७ लाख बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१)  र सोही दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम सजाय हुन र उक्त घुसवापतको रकम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम असुलउपर गरी जफत हुन समेत मागदाबी गरिएको अख्तियारले जनाएको छ ।

साथै कृष्ण बहादुर बस्नेतले घुस रिसवतवापत लिएको रकम आफ्ना जेठान नविनकुमार गौलीको नाममा रहेको नबिल बैंकको खातामा जम्मा गर्ने गरेको देखिएका हुँदा नबिनकुमार गौँलीसँग पनि १७ लाख बिगो दाबी गरी आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको अख्तियारले जनाएको छ ।

बस्नेतले प्राप्त गर्ने कमिशन रकम आफूले लिने, प्रयोग गर्ने, विभिन्न व्यवसायहरुमा लगानी गर्ने, घरजग्गामा लगानी गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।

तातेपानी भन्सार प्रमुखले साढे दश करोड भष्ट्रचार गरेको आरोप, विराटनगरमा रहदा १७ लाख