तातेपानी भन्सार प्रमुखले साढे दश करोड भष्ट्रचार गरेको आरोप, विराटनगरमा रहदा १७ लाख

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तातोपानी भन्सार कार्यलयका अधिकृतसहित ५ जना विरुद्ध साढे दश करोड भष्ट्रचार गरेको ठहर गर्दै मुद्दा दायर गरेको छ।

अख्तियारले तातोपानी भन्सार कार्यालयमा प्रमुख भन्सार अधिकृतको रुपमा कार्यरत कृष्णबहादुर बस्नेतले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको भन्दै आरोपपत्र दायर गरेको हो । बस्नेतले उनका जेठान नबिनकुमार गौली र उनका परिवारका सदस्यको नाममा भष्ट्रचार गरेको रकम राख्ने गरेको अख्तियारले जनाएको छ। 

बस्नेतले प्रमुख भन्सार अधिकृतको रुपमा कार्यरत रहँदा बिदेशबाट नेपाल आयात गर्ने सामानहरुको भन्सार छुटाउँदा बिभिन्न ब्यापारी, क्यारिङ्ग ब्यबसायी एवं भन्सार एजेन्टहरुसँग गैरकानूनी रुपमा घुस लिई जेठान नबिनकुमार गौली लगायत आफ्नो परिवारको सदस्यहरुको बैंक खातामा ९ करोड २१ लख ५२ हजार ७९२ रुपैयाँ जम्मा गर्न लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

सार्वजानिक सेवामा प्रवेश गरेदेखि हालसम्म बस्नेतले गैरकानूनी रुपमा १० करोड ५६ लाख ९१ हजार ६०९ रुपैयाँ आर्जन गरेको देखिएकोले उक्त रकम बराबरको विगो जारी गरी मुद्दा दायर गरेको हो। यसैगरी उनका जेठान नबिनकुमार गौलीलाई नौ करोड २१ लाख विगो जारी गरी मुद्दा दायर गरेको छ।

भोजपुरको षडानन्द नगरपालिका–११ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–४ धूम्रबाराही बस्दै आएका निज बस्नेत २०४५ सालमा लेखापाल पदमा सार्वजनिक सेवामा प्रवेश गरेका थिए ।

सो अवधिमा उनको पारिश्रमिक बचत, घरजग्गा बिक्री, ऋण सापटी, घर बहाल, शेयर लाभांश, कृषि आय, भ्रमण भत्ता, सुन बिक्री, अंशबण्डाबाट प्राप्त आय, कमिशन तथा पुरस्कार, बीमा समेतबाट जम्मा एक करोड ७८ लाख २० हजार ९७५ रुपैयाँ ८२ पैसा देखिएको र सोही अवधिमा निजको व्यय तथा लगानीतर्फ जग्गा खरिद, घर निर्माण, सुनचाँदी खरिद, सवारी साधान खरिद, विदेश भ्रमण र नगद मौज्दातलगायत गरी तीन करोड १३ लाख ५९ हजार ७९३ रुपैयाँ ७३ पैसा लगानी गरेको देखिएको आयोगले जनाएको छ ।

त्यसैगरी आयोगले गैरकानूनी आर्जनको सम्पत्ति लुकाई छिपाई राख्ने कार्यमा संलग्न रहेको आरोपमा जेठान नबिनकुमार गौली, श्रीमती सबिता गौली बस्नेत , नबिनकुमार गौलीकी श्रीमती सकुन्तला गौली र छोरा शुलभ गौलीसमेतलाई प्रतिबादी बनाई आरोपपत्र दायर गरेको छ।

यीनै बस्नेतले विराटनगर भन्सार कार्यालय, मोरङको प्रमुख भन्सार अधिकृत रहदा १७ लाख भ्रष्टाचार गरेको आरोपमा अख्तियारले आजै विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको छ ।

सत्र लाख भष्ट्रचारको आरोपमा विराटनगर भन्सारका तत्कालीन प्रमुख बस्नेत विरुद्ध आरोप पत्र दायर

बस्नेतलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१)  र सोही दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम सजाय हुन र उक्त घुसवापतको रकम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम असुलउपर गरी जफत हुन समेत मागदाबी गरिएको अख्तियारले जनाएको छ ।