नेपाल इन्भेष्टमेन्ट बैंकले निष्काशन गरेको ऋणपत्रमा लगानीको अवसर

0
Shares

नेपाल इन्भेष्टमेन्ट बैंकले प्रतियुनिट एक हजार रुपैयाँ अंकित दरमा दुई अर्बको ऋणपत्र निष्काशन गरेको छ। लगानीयोग्य रकमको अभाव र पूँजीकोषमा दबाब सिर्जना भएपश्चात बैकले सात वर्ष अवधिको ऋणपत्र निष्काशन गरेको हो ।

दीर्घकालीन लगानी स्रोत जुटाउन बैंकले निष्काशन गर्ने ‘१०।५ नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर २०८२’ मा लगानीकर्ताले सात वर्षसम्म वार्षिक १०.५ प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा पाउनेछन ।

बैंकको डिबेञ्चरमा लगानी गर्नेले लगानीकर्ताले तोकिएको अवधिका लागि निश्चित प्रतिफल निरन्तर पाइराख्ने छन । बैंक तथा वित्तीय संस्थाहरुमा ऋणपत्र धितो राखेर कर्जा लिन सकिने र ऋणपत्रको अवधि समाप्त नहुँदै दोस्रो बजारमा बिक्री गरि लगानी फिर्ता लिन सकिने समेत बैंकले जनाएको छ ।

इन्भेष्टमेन्ट बैंकले प्रतिइकाई एक हजार रुपैयाँ अंकित दरमा २० लाख इकाई ऋणपत्र बिक्रीमा ल्याएको हो । कूल २० लाख ऋणपत्रमध्ये ४० प्रतिशत बराबरको ८ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ भने ६० प्रतिशत अर्थात १२ लाख इकाई बैंकले व्यतिगत तवरबाटै बिक्री गर्नेछ ।

सिद्धार्थ क्यापिटलको बिक्री प्रबन्धकत्वमा निष्काशन हुने ७ वर्षे अवधिको उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता अर्थात २५ हजार रुपैयाँदेखि अधिकतम एक लाख कित्ता अर्थात दश करोड रुपैयाँसम्मको आवेदन दिन सक्नेछन् । ऋणपत्रमा आवेदन दिन म्याद छिटोमा जेठ २८ र ढिलोमा असार २२ गतेसम्म रहेको छ ।

पछिल्लो समयमा लगानीयोग्य रकमको अभाव र पूँजीकोष अनुपातमा दबाब सामना गरेका बैंकहरुले ऋणपत्र निष्काशन तिब्र बनाएका छन् । तर सर्वसाधारण लगानीकर्तामा यसप्रतिको आकर्षण कम हुँदा ऋणपत्र बिक्री हुन नसकेर अन्तिम समयसम्म कुर्दा पनि बिक्री प्रबन्धकहरु निराश छन । पछिल्लो पटक ऋणपत्र बिक्रीमा ल्याएको नेपाल बंगलादेश बैंकले यस्तै अवस्था सामना गर्नुपरेको अवस्था छ ।

प्रकाशित मिति: २३ जेठ २०७६, बिहीबार  ०६ : ४१ बजे