प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा शेयर बजारको दायरा फराकिलो बनाउने प्रयास गरिने भएको छ ।
शेयर बजारमा संलग्न लगानीकर्तालाई सो सम्बन्धी शिक्षा दिएर बजारको वर्तमान अवस्था र चुनौतीको विषयमा जानकारी दिइने छ । शेयर बजारमा लामो अनुभव गरेका लगानीकर्ताले आफ्नो बजारसम्बन्धी अनुभवसँगैे शेयर बजारको नीतिगत विषयसमेत औँल्याउने छन् ।
प्रदेश नं ५ शेयर लगानीकर्ता फोरम र लगानी स्कुल काठमाडौँको संयुक्त आयोजनामा बुटवलमा हुने कार्यशालामा दाङ, अर्घाखाची, कपिलवस्तुलगायतको विभिन्न जिल्लाबाट सहभागिता रहने बताइएको छ ।
सो कार्यशालामा प्रोफेसर डा मनोहरकुमार श्रेष्ठ, डा विनोद घिमिरे, राजकुमार केसी, सुदर्शन कडरियालगायतले शेयर बजारको विभिन्न अवस्थाको बारेमा जानकारी दिने कार्यक्रम रहेको छ ।
“काठमाडौँपछि बुटवललाई शेयर बजारको केन्द्रको रुपमा विकास गर्न खोजेका छौँ”, प्रदेश नं ५ शेयर लगानीकर्ता फोरमका अध्यक्ष कमल तिवारीले भने । उनले बजारमा अभ्यस्त भएका तर ढुक्कसँग लगानी गर्न नसकेका लागि कार्यशाला फलदायी हुने विश्वास व्यक्त गर्दै यसले शेयर बजारसम्बन्धी अस्पष्टता हट्ने बताए ।
गतवर्ष स्थापित फोरमले शेयर बजारसम्बन्धी सचेतना कार्यक्रम गर्दै आएको छ । बुटवलमा पाँच, भैरहवामा एक र दाङमा एक गरी प्रदेश नं ५ मा ७ दलाल (ब्रोकर) कार्यालय छन् । उनीहरुले दैनिक एक करोड हाराहारीमा कारोवार गर्दै आएका छन् ।
प्रतिक्रिया