‘पूँजी बजारको पहुँच बढाउन जनताको तहसम्म पुग्नुपर्छ’

0
Shares

प्रदेश नं ५ को योजना आयोगका उपाध्यक्ष डा ईश्वर गौतमले पूँजी बजारको पहुँच बढाउन जनताको तहसम्म पुग्नुपर्ने बताएका छन ।

बुटवलमा उद्योग वाणिज्य सङ्घ र नेपाल धितोपत्र बोर्डद्वारा आयोजित अन्तरक्रियामा उनले पूँजी बजारका बारेमा आफूपछि परेको बताए । उपाध्यक्ष गौतमले अनुत्पादक क्षेत्रमा लगानी भएको पुँजीलाई शेयर बजारमा लगानी गरेर लाभ लिन सक्ने उल्लेख गर्दै पूँजीको अभाव होइन परिचालनको समस्या रहेको बताए ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्कीले मुलुक राजनीतिक स्थायित्वबाट आर्थिक समृद्धितर्फ उन्मुख हुन लागेको बेला बैंकले ब्रोकर लाइसेन्स पाउँदैछन् भने । उनले वित्तीय साक्षरता अहिलेको चुनौती भएकोमा जोड दिँदै वित्तीय साक्षरता प्राविधिक विषय भएको बताए ।
नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले बैंकको ब्याज दर बढी भएकाले नेप्से घटेको बताए । उनले शेयर कर्जा लिएर लगानी गर्दा योजना बनाउन लगानीकर्तासँग आग्रह गरे ।

बुटवल बहुमुखी क्याम्पसका उप प्राध्यापक डा बाबुराम ज्ञवालीले पूँजी बजारको दोस्रो बजारको विकास हुन नसकेको बताए । सफल इन्भेष्टमेण्टका महासचिव माधव पाण्डेले शेयरको लाभकर गणनाको टुङ्गो लाग्न नसक्दा समस्या आएको बताए । उद्योगी रोहितराज क्षेत्रीले शेयर बजारको कुन क्षेत्रमा लगानी गर्ने भन्ने निक्र्योल गर्नुपर्ने बताए ।

बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष खेम हमालको अध्यक्षतामा भएको सो कार्यक्रममा धितोपत्र बोर्डका निर्देशक निरञ्जन घिमिरेले शेयर बजारको परिचयात्मक तथा आधारभूत पक्षबारे जानकारी दिएका थिए।

प्रकाशित मिति: २३ भदौ २०७६, सोमबार  ०७ : ०० बजे