शेयर बजार ३० अंकले उक्लिदा कारोबारमा ऐतिहासिक रेकर्ड

0
Shares

बढ्दो गतिमा रहेको शेयरबजार बिहीबार झण्डै ३० अंकले उकालो लाग्दा हालसम्मकै उच्च कारोबार भएको छ। यसदिन नेप्सेमा एकैदिन २ अर्ब ७८ करोड बढीको शेयर किनबेच भयो ।

नेप्सेमा यति ठूलो परिमाणमा भएको कारोबार रकम हालसम्मकै उच्च हो। यसअघि २०७३ साउन ११ गते २ अर्ब ७५ करोड बराबरको शेयर किनबेच भएको थियो।

बजार खुलेदेखि नै तीब्र रुपमा बढेको नेप्से २९.३२ अंक बढेर १ हजार ४३४ दशमलव ५७ बिन्दुमा उक्लिएको छ । १८० कम्पनीको कारोबार भएको बजारमा ५८ लाख २९ हजार ५१० कित्ता शेयर २ अर्ब ७८ करोड ५० लाख बराबरमा किनबेच भएको छ । कारोबारमा आएका ब्यापार र म्युचुअल फण्ड उपसमूह बाहेक अन्य सबै उपसमूहको सूचक बढेपछि नेप्से उकालो लागेको हो भने कारोबार रकममा समेत सुधार आएको हो।

सबैभन्दा धेरै शिवम सिमेन्टको १७ करोड बढीको शेयर किनबेच भएको बजारमा हिमालयन डिष्टलरी र नेपाल लाइफको पनि १२ करोड बढीको कारोबार भएको छ। यसैगरि ग्रामीण विकास लघुवित्तको ११ करोड, शिखर इन्स्योरेन्स १० करोड ६३ लाख, नेको इन्स्योरेन्सको ८ करोड ३० लाख, नागरिक लगानी कोष ८ करोड, फस्ट माइक्रोफाइनान्स ७ करोड ७८ लाख, मेरो माइक्रोफाइनान्स ७ करोड २ लाख र नेपाल इन्स्योरेन्सको ६ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो।

यसदिन एकदर्जन कम्पनीको शेयर मूल्य दश प्रतिशतकै हाराहारीमा बढेको छ। बोटलर्स नेपाल तराई, फस्ट माइक्रोफाइनान्स, एनएमबि, कालिका, मेरो माइक्रोफाइनान्स, तथा स्वाभिमान लघुवित्त लगायतको शेयरमूल्य दश प्रतिशतकै हाराहारीमा बढेको छ ।