एक सातामै बैंकहरुमा थपियो २२ अर्ब निक्षेप, कर्जा विस्तारमा यसकारण देखियो सुस्तता

0
Shares

चालु आर्थिक वर्षको छैटौ महिना पुसको दोस्रो सातामा मात्रै वाणिज्य बैंकहरुमा २२ अर्ब निक्षेप थपिएको छ । सो अवधिमा बैंकहरुले ९ अर्ब रुपैयाँ मात्र कर्जा प्रबाह गरेका छन् ।

पछिल्लो समयमा बैंकहरुले कर्जा नियन्त्रण गर्दै आएका थिए । यहि समयमा राष्ट्र बैंकले व्यक्तीगत तथा गैर व्यसायिक कर्जामा कडाई गर्नुका साथै कर चुक्ताको प्रमाणपत्र अनिवार्य गरेसँगै बैंकहरुको कर्जा विस्तारको गतिमा थप कमी देखिएको छ ।

राष्ट्र बैंकले अघिल्लो साता एक निर्देशन जारी गर्दै व्यक्तिगत प्रकृतिका आवधिक कर्जा, घर कर्जा, तथा हायर पर्चेज कर्जा लगायतका किस्तामा आधारीत कर्जा प्रवाह गर्दा बैंक वित्तीय संस्थाले ऋणीको ऋण भुक्तानी आम्दानी अनुपात ५० प्रतिशत सिमामा कायम गर्नुपर्ने व्यवस्था गरेको थियो ।

व्यक्तिगत तथा गैर–व्यवसायिक कर्जामा कडाई, सीमाभन्दा वढी दिए सुक्ष्म निगरानीमा

साथै त्यस्ता प्रकृतिका कर्जा दिदा बैंक तथा वित्तीय संस्थाले ऋणीको आय स्रोत खुल्ने प्रमाणित कागजात संलग्न हुनुपर्ने व्यवस्था गरेको थियो ।
पुस महिनाको पहिलो र दोस्रो हप्तामा मात्रै बैंकहरुमा २६ अर्ब निक्षेप थपिएको छ भने यस अवधिमा १२ अर्ब कर्जा प्रवाह भएको छ ।

चालु आर्थिक बर्षको साढे ६ महिना अर्थात पुस ११ गते सम्मको तथ्याङकलाई हेर्दा २७ बाणिज्य बैंकमा कुल एक खर्ब ४० अर्ब निक्षेप थपिएको छ । यस अवधिमा बैंकहरुले १८० अर्ब कर्जा प्रवाह गरेका छन् । बैंकहरुले निक्षेप संकलन भन्दा ४० अर्ब बढी कर्जा प्रवाह गरेका छन् ।

चालु आर्थिक वर्षको पुस ११ गते सम्ममा वाणिज्य बैंकहरुमा कुल निक्षेप ३० खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकहरुले कुल २६ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन ।

गत अषाढ मसान्तसम्म बैंकहरुमा कुल निक्षेप २८ खर्ब ७८ अर्ब रुपैयाँ रहेको थियो भने त्यस अवधिमा बैंकहरुले कुल २४ खर्ब ९८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

गत साता बाणिज्य बैंकहरुको निक्षेप ४अर्बले बढ्दा कर्जा बिस्तार ३ अर्ब रुपैयाँले मात्र विस्तार भएको छ । मंसिरमा बैंकहरुले ३० अर्ब निक्षेप बढाएर २७ अर्बले ऋण बिस्तार गरेका थिए भने पुसको दुई साताभित्रै २६ अर्ब निक्षेप थपिएको छ भने १२ अर्ब कर्जा प्रवाह भएको छ ।

प्रकाशित मिति: १६ पुस २०७६, बुधबार  १९ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।