चिलिमे जलविद्युत कम्पनीले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने निर्णय गरी साधारण सभाबाट अनुमोदन गराएको बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खाता (डिम्याट) मा पठाएको छ।
कम्पनीको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेडले साधारण सभाका लागि बुकक्लोज अघिसम्म (कार्तिक २७ गते) कायम शेयरधनीको डिम्याट खातामा बोनस वितरण गरेको हो।
शेयर अभौतिकीकरण गरेपश्चात मात्र बोनश शेयर वितरण गरिने हुँदा शेयर अभौतिकीकरण गराउन लगानीकर्तालाई आग्रह गरेको छ। जलविद्युत कम्पनीको मंसिर ११ गते सम्पन्न २३ औं वार्षिक साधारण सभाबाट २० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी कूल २५ प्रतिशत लाभांश पारित भएको थियो।
क्यापिटलले हालसम्म भौतिक रुपमा शेयर धारण गरेका शेयरधनीहरुलाई शेयर अभौतिकिकरण र डिम्याट खातामा बैंक खाता अद्यावधिक गराउन आग्रह गरेको छ।
बोनस वितरण पश्चात चिलिमे जलविद्युत कम्पनीको चुक्ता पूँजी ५ अर्ब ७० करोड ९७ लाख रुपैयाँ पुगेको छ। नगद लाभांश भने यसअघि नै वितरण गरिसकेको छ।







