पैसा तयार पार्नुहोस्, चैत ४ गतेबाट खुल्दैछ एक अर्ब ६० करोडको आईपीओ

15
Shares

नेपाल पुनर्बीमा कम्पनीले आगामी चैत ४ गतेबाट १ अर्ब ६० करोडको प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० अंकित दरका १ करोड ६० लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। जसमध्ये ७३ हजार ५०० कित्ता कर्मचारीहरुलाई बाँडफाँड गरिएको र ८ लाख कित्ता शेयर सामुहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी १ करोड ५१ लाख २६ हजार ५०० कित्ताका लागि आवेदन दिन सक्नेछन्।

सो शेयर खरिदका लागि न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा चैत ७ गते हुनेछ भने ढिलोमा चैत १८ गते हुने कम्पनीको शेयर बिक्री प्रवन्धक आरबीबी मर्चेन्ट बैकिंङ लिमिटेडले जनाएको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका अलावा मेरोशेयर सफ्टवेयरबाट पनि आवेदन दिन सकिनेछ।

हाल नेपाल पुनर्बीमा कम्पनीको अधिकृत पूँजी १५ अर्ब , जारी पूँजी १० अर्व र चुक्ता पूँजी ८ अर्व ४० करोड रहेको छ। आईपिओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी १० अर्ब पुग्नेछ।

कम्पनीमा सरकारको ४४, बीमा कम्पनीहरुको ३९ र सर्वसाधारणको १६ प्रतिशत स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ ।
कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालले इक्रा एनपी आईपीओ ग्रेड २ रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको आधारभूत अवस्था औषतभन्दा बलियो रहेको संकेत गर्दछ।

प्रकाशित मिति: २३ फाल्गुन २०७६, शुक्रबार  ०८ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।