शेयर कारोबार नरोकिने, सावधानी अपनाएर सञ्चालन गर्न बोर्डको निर्देशन

0
Shares

नेपाल धितोपत्र बोर्डले धितोपत्रको दोस्रो बजार कारोबारमा संलग्न पक्षहरुलाई विभिन्न पाँच बुँदामा सावधानीका उपायहरु अवलम्बन गरेर मात्र शेयर कारोबार गराउन निर्देशन दिएको छ।

लगानीकर्ताहरुले दोस्रो बजारमा कारोबार रोक्न माग गर्दैै ज्ञापनपत्र बुझाएपनि बोर्ड भने अझै रोक्ने निर्णयमा नपुगेको हो।

बोर्डले धितोपत्र दलाल व्यवसायीहरुले स्क्रिन एक्जिविशन रुम बन्द गर्ने, ब्रोकर कर्मचारी बाहेक एक पटकमा ५ जना भन्दा बढीको संख्यामा ग्राहकको भीडभाड नहुने व्यवस्था गर्न, लगानीकर्ताहरु प्रवेश गर्दा हात सफा गर्ने, सेनिटाइजर मास्कको प्रयोग, तापक्रम मापन कार्य गर्ने व्यवस्था गर्न, र कोरोना भाइरसबाट बच्ने उपायहरु सम्बन्धी सूचनामूलक जानकारी प्रवेशद्वारमा राख्न निर्देशन दिएको दिएको बोर्डका उप-कार्यकारी निर्देशक डा. नवराज अधिकारीले नोटबजारलाई जानकारी दिए।

यसैगरि बोर्डले नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको चैत ५ गते बुधबारको सम्बन्धित निर्णयहरु कार्यान्वयन गर्ने व्यवस्था मिलाउन समेत ब्रोकर कम्पनीहरुलाई पत्राचार गरेको छ।

बोर्डमा आजै धितोपत्र बजार सम्बद्ध विभिन्न पाँच लगानीकर्ता संघले कारोबार रोक्न ज्ञापनपत्र पेश गरेपछि लगानीकर्ता संघहरुका प्रतिनिधिहरु, स्टक एक्सचेञ्जका उच्च पदाधिकारीहरु, स्टक ब्रोकर एशोसिएसनका पदाधिकारी र बोर्डका पदाधिकारीहरु बीच कोरोना भाइरस का कारणबाट फैलिएको त्रास र यसवाट विभिन्न आर्थिक गतिविधिहरुमा परेको प्रभाव तथा असर सम्बन्धमा छलफल भएको थियो।

छलफल पश्चात कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका पछिल्लो निर्णय र बजार सम्बद्ध पक्षहरुको हालको परिस्थिति प्रतिको चासो तथा गाम्र्भिएता समेतलाई दृष्ट्रिगत गरी हाललाई धितोपत्रको दोस्रो बजार कारोवारमा संलग्न पक्षहरुलाई सो निर्देशन दिँदै सावधानीका उपायहरु अपनाएर कारोबार जारी राख्न निर्देशन हो।

प्रकाशित मिति: ६ चैत्र २०७६, बिहिबार  १५ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।