उर्जा तथा उत्पादनमूलक कम्पनीको शेयरमूल्यमा सुधारले भारतीय शेयर बजारमा हरियाली

0
Shares

भारतीय शेयर बजारमा मंगलबार उच्च अंकको सुधार आएको छ।

सोमबार घटेको भारतीय शेयर बजार मंगलबार बैंक, उर्जा तथा उत्पादनमूलक कम्पनीको शेयर मूल्यमा आएको सुधारले समग्र बजार सकारात्मक भएको हो ।

चीनबाट सुरु भएको कोरोना भाइरस विश्वव्यापी रुपमा फैलिरहेको अवस्थामा चीनको जनजीवन समान्य हुँदै आएको छ । चीनले कोरोना भाइरसलाई जितेपछि विश्वका अधिकाशं शेयर बजारमा लगानी गर्ने लगानीकर्ताको मनोबल समेत सकारात्मक भएको छ।

विश्वका अधिकाशं शेयर बजारमा सुधार आएपछि मंगलबार भारतीय पुँजी बजार सूचकहरु पनि सुधारको गतिमा देखिएका हुन् ।

भारत सरकारले कोरोना भाइरस नियन्त्रणका लागि लक डाउन गरिरहेको अवस्थामा पनि घरायसी उपभोग्य समानको उत्पादन गर्ने कम्पनी, उर्जा तथा बैंक वित्तीय संस्थाको काम काराबाहीमा खासै असर नपर्ने भएपछि ती क्षेत्रका कम्पनीको शेयर मूल्यमा उच्च सुधार आएको छ । ती क्षेत्रका कम्पनीको शेयरमूलय बढ्दा भारतीय प्रमूख पूँजी बजारका सूचकहरु बढेका हुन् ।

सोमबार बम्बई स्टक एक्सचेन्ज परिसूचक सेन्सेक्स १ हजार ३७५ अंकले घटेको थियो । तर, मंगलबार सेनसेक्स १ हजार २८ अंकले बढेको छ । त्यसैगरी सोमबार नेशनल स्टक एक्सचेन्ज परिसूचक निफ्टी पनि ३७९ अंकले घटेको थियो । मंगलबार निफ्टी पनि ३१६.६५ अंकले बढेको छ।

मंगलबार सेन्सेक्स २९ हजार ४६८.४९ अंकमा पुगेको छ भने निफ्टी ८५९७.७५ अंकमा पुगेको छ । मंगलबार कारोबार सुरु भएदेखि निरन्तर बढ्दो गतिमा रहेका भारतीय शेयर बजार सूचक बन्द हुँदासम्म कायम रह्यो । मंगलबार सेन्सेक्समा सूचीकृत ३० मध्ये २५ कम्पनीको शेयरमूलय बढेको छ भने निफ्टीका ११ उपसमुहहरु सकारात्मक रहेका छन्।

प्रकाशित मिति: १८ चैत २०७६, मंगलबार  १९ : ०६ बजे