
वाणिज्य बैंकहरुमध्ये जेठो बैंक नेपाल बैंक लिमिटेड (NBL) को वितरणयोग्य नाफा ६ करोड १९ लाख ८२ हजार रुपैयाँ ऋणात्मक बनेको छ।
चालु आवको ९ महिनामा गत आवको यसै अवधिको तुलनामा ११ प्रतिशत कम नाफा आर्जन गरेको बैंकको आम्दानीका शिर्षहरु घटेर राष्ट्र बैंकको नियामकीय र बैधानीक कोषहरुमा रकम व्यवस्थापन शेयरधनीलाई वितरण गर्न मिल्ने रकम ऋणात्मक बनेको हो ।
बैंकले ४१ करोड ३२ लाख बैधानीक जगेडा र १ अर्ब ६४ करोड ५३ लाख रुपैयाँ नियामकिय जगेडामा गरि २ अर्ब ५ करोड ८५ लाख रुपैयाँ व्यवस्थापनमा राख्दा वितरण योग्य मुनाफा ऋणात्मक भएको हो।
बैंकले चैतको अपरिष्कृत वित्तीय विवरण अनुसार १ अर्ब ९९ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको छ। गत आवको यसै अवधिमा २ अर्ब २४ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको यस बैंकको नाफा २४ करोड ९० लाखले घटेको हो।
चुक्ता पूँजी ९ अर्ब ८१ करोड ११ लाख रुपैयाँ रहेको बैंकको वार्षिक प्रतिशेयर आम्दानी ३.१९ रुपैयाँ घटेर २७.१३ रुपैयाँमा संकुचित हुँदा प्रतिशेयर नेटवर्थ २९६.६३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ९.२५ गुणा छ। यो बैंकले गत आवको मुनाफाबाट वितरण गरेको १५ प्रतिशत बोनस पूँजीकरण अघिको हो।
जगेडा कोषमा रकम बढाएर १४ अर्ब १७ करोड ६२ लाख रुपैयाँ सञ्चित राखेको बैंकको शेयरधनी कोषमा १ अर्ब ८५ करोड २५ लाख रुपैयाँ र ३ अर्ब २६ करोड २८ लाख रुपैयाँ शेयर प्रिमियम रहेको छ।
चैत मसान्तसम्ममा बैंकले खर्ब माथिको कारोबार गरेको छ। ५ अर्बले बचत संकलन बढाएर १ खर्ब २२ अर्ब ७० करोड निक्षेप संकलन गरेको बैंकले ९ अर्ब बढीले कर्जा लगानी बढाउँदै १ खर्ब १ अर्ब ६७ करोड रुपैयाँ बराबरको कर्जा लगानी गरेको छ।
यसबाट बैंकले ४ अर्ब २१ करोड ८२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत आवको यसै अवधिमा ४ अर्ब ७२ करोड खुद ब्याज आम्दानी गरेको बैंकको ५० करोड ७० लाखले संकुचन आएको हो।
वित्तीय विवरणअनुसार बैंकको चैत मसान्तसम्ममा गत आवको तुलनामा सबैजसो आम्दानीका सूचहरु घटेका छन्। ब्याज आम्दानी, शुल्क कमिसन आय, र गैह्र सञ्चालन आय पनि घटेको हो। जसले बैंकको सञ्चालन नाफा ४७ करोड २८ लाख रुपैयाँ घटेर २ अर्ब ६५ करोड ५ लाखमा सीमित भएको छ।










प्रतिक्रिया