संसदमा आजदेखि आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउने बजेट र नीति तथा कार्यक्रमका बारेमा छलफल सुरु हुने भएको छ ।
आज बस्ने प्रतिनिधिसभा र राष्ट्रिय सभाको छुट्टाछुट्टै बैठकमा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धी प्रस्ताव पेस गर्ने र त्यसपछि छलफल सुरु गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 
आज ११ बजे प्रतिनिधिसभा तथा १ बजे राष्ट्रिय सभाको बैठक बस्दैछ।
प्रतिनिधिसभाको बैठकको सुरुमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले रेडियोधर्मी पदार्थको नियमनसम्बन्धी विधेयक २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।
त्यसपछि अर्थ मन्त्रीले बजेट पूर्वको छलफलका लागि प्रस्ताव पेस गर्ने र त्यसपछि छलफल थाल्ने तयारी छ । दुवै सदनमा बजेटका सिद्धान्त र प्राथमिकताबारे अर्थमन्त्री खतिवडालाई सुझाव दिइनेछ।
संघीय संसदका सुझाव समेट्दै अर्थमन्त्री खतिवडाले नीति तथा कार्यक्रम ल्याउने छन् । उक्त नीति तथा कार्यक्रमको आधारमा बजेट आउनेछ। जेठ १५ गते बजेट ल्याउनु पर्ने संवैधानिक वाध्यात्मक प्रावधान छ। जसका कारणले कोरोनाको महामारीका बीचमा पनि स्वास्थ्य सावधानी अपनाउँदै संसद बोलाइएको हो।
बजेट जेठ १५ मा पेश गर्नैपर्ने चापका कारण वैशाख २८ गतेबाटै प्रि-बजेट छलफल गर्न लागिएको हो । सरकारको नीति तथा कार्यक्रम जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट पेश गर्ने कार्यक्रम छ ।










प्रतिक्रिया